रौतहट– जनकपुरधाममा छुरा प्रहार गरी एक युवकको हत्या गरेको आरोप लागेका व्यक्तिसँग हतियार प्रदर्शन गर्दै टिकटक र रिल्स बनाएको विषयमा एक सशस्त्र प्रहरी जवानमाथि अनुसन्धान सुरु भएको छ ।
अनुसन्धानको दायरामा तानिएका जवान ऋषि मण्डलले हत्या आरोपी इर्साद खानसँग केही महिनाअघि बनाएका भिडियोमा हिंसात्मक अभिव्यक्ति र अभद्र व्यवहार देखिएको आरोप छ ।
सार्वजनिक भिडियोमा खानले खल्तीबाट खुकुरी निकालेर प्रदर्शन गर्दै गालीगलौजसहित हिंसा गर्ने चेतावनी दिएको सुनिन्छ । उक्त दृश्यमा जवान मण्डल पनि सँगै देखिएका छन् ।
हालै जनकपुरधाममा भएको छुरा प्रहारको घटनामा खानको नाम जोडिएपछि उनीसँग जवान मण्डलले बनाएका पुराना भिडियो पनि चर्चामा आएका हुन् । यससँगै सुरक्षाकर्मीको आचरण र हिंसात्मक गतिविधिसँगको सम्बन्धबारे प्रश्न उठेको छ ।
बिहीबार साँझ जनकपुरधाममा भएको छुरा प्रहारबाट जनकपुरधाम उपमहानगरपालिका- ५ का २४ वर्षीय आमिन साफीको मृत्यु भएको थियो । घटनामा २५ वर्षीय इम्तियाज राइन गम्भीर घाइते भएका छन् ।
प्रहरी अनुसन्धानअनुसार घटनामा संलग्न भएको आरोप लागेका इर्साद खानलाई स्थानीयस्तरमा ‘गुण्डा’ भनेर चिनिने गरेको बताइएको छ । उनीसँग सशस्त्र प्रहरी जवान मण्डलले बनाएका भिडियोमा देखिएका गतिविधिलाई लिएर अनुसन्धान अघि बढाइएको हो ।
हत्याको आरोप लागेका व्यक्तिसँग सुरक्षाकर्मीले हतियार प्रदर्शनसहितका भिडियो बनाएको विषयले प्रहरी संगठनको अनुशासन र जिम्मेवारीमाथि समेत प्रश्न खडा गरेको छ । यद्यपि भिडियोमा देखिएको आधारमा मात्रै जवान मण्डलको संलग्नता वा दोष पुष्टि हुने छैन । अनुसन्धानबाट घटनाको वास्तविकता र उनको भूमिकाबारे थप स्पष्ट हुने अपेक्षा गरिएको छ ।





















