काठमाडौं– संवादलाई परम्परागत ढर्राबाट बाहिर आएर प्रस्तुत गर्ने क्यानडेली कवि एनी कार्सनले यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार पाएकी छन् । उनले अहिलेसम्म २० भन्दा बढी पुस्तक लेखिसकेकी छन् । यीमध्ये धेरै वटा अहिले नाटकको रूपमा परिणत भए ।
मनभित्रको भावनालाई राम्रो संवादमार्फत कलात्मक रूपमा प्रस्तुत गर्ने उनको क्षमता साँच्चै दुर्लभ भएको नोबेल एकेडेमीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उनको परम्परागत ग्रिक भाषाको अनुवाद पनि उत्कृष्ट ठहरिने गरेको छ ।
नोबल पुरस्कार पाउनेमा आफ्नो नाम घोषणा भएपछि खुसीले पागल भएको ७६ वर्षीया कार्सनले बताएकी छन् । टोरन्टोमा जन्मिएकी उनी अहिले आइसल्यान्डमा बस्छिन् । सन् २०२२ मा उनले आइरिस नागरिकता समेत लिइसकेकी छन् ।
उनको कृतिमध्ये ‘ब्युटी अफ हस्ब्यान्ड’ धेरैले मन पराएका छन् । परम्परागत युरोपिडिजको कथालाई वर्तमान परिप्रेक्ष्यमा नयाँ ढङ्गले प्रस्तुत गर्नु उनको अर्को क्षमता हो । सन् २०२१ मा ‘ट्राजुक उम्यान’को नाममा उनले सो कथा प्रस्तुत गरेकी थिइन् ।
सन् २०२४ मा पार्किन्सन्स रोगबाट उपचार गराएकै समयमा उनले लन्डन रिभ्यु अफ बुकमा उपस्थिति जनाएकी थिइन् । स्वीडिस एकेडेमीले प्रदान गर्ने यो प्रतिष्ठित अवार्ड गत वर्ष हंगेरीका लेखक लास्जलो क्राज्नाहोर्काइले पाएका थिए ।
डाइनामाइटका आविष्कारक डा. अलफ्रेड बर्नहार्ड नोबेलको नाममा स्थापित यो पुरस्कार ६ विधामा दिइन्छ । यस वर्ष चिकित्साशास्त्रको अवार्ड कार्ल डाइसेरोथ, पिटर हेग म्यान र जर्ज नागेलले पाए ।
यसैगरी भौतिकशास्त्रको नोबेल पुरस्कार फ्रान्सिस हालजिनले पाए । रसायनशास्त्रको नोबेल पुरस्कार हेनरी बी कागान र केन्सो सो आईलाई प्रदान गरियो । शान्तितर्फको नोबेल पुरस्कार नावी पिल्ले पाइन् । यस वर्षको अर्थशास्त्रको पुरस्कार भने घोषणा हुन बाँकी छ ।

एनीलाई हाइब्रिड स्टाइलको लेखिकाको रूपमा पनि चिन्ने गरिन्छ । चलिआएको परम्परागत शैलीलाई समायोजन गरेर आफ्नोपन दिने उनको विशेषता हो । उनको साहित्य र लेखनमा दार्शनिक पक्षलाई कतै न कतै मिसाइएको हुन्छ नै ।
‘अटोबायोग्राफी अफ रेड’ मा उनले ग्रिक कविहरूका विभिन्न पक्षलाई बाहिर ल्याउने प्रयास गरेकी थिइन् । उनको लेखनको शैलीले धेरैलाई आकर्षण गरेको थियो । सन् १९९८ मा उनले ‘टेन्डर हिरो’ लेखेकी थिइन् । सो पुस्तकमा उनले पारिवारिक हिंसाको बारे चर्चा गरेकी थिइन् ।
उनका धेरै कृति विवादमा आउने तथा समाजमा नयाँ बहस सुरु गर्ने किसिमका हुन्छन् । समाजमा हुने गरेका तथा धेरैले भन्न नसकेका विषयलाई उनले उत्कृष्ट संवाद संयोजन गरेर आफ्नै किसिमले प्रस्तुत गर्ने गरेकी छन् ।
स्वीडिस एकेडेमीका स्थायी सचिव इनग्रिड कार्लबर्गले आइसल्यान्डमा रहेकी एनीलाई यस विषयमा जानकारी दिएका थिए । उनले यो समाचार थाहा पाएपछि खुसीले भावविह्वल भएको समेत बताइन् ।
टोरन्टो विश्वविद्यालयबाट स्नातक, स्नातकोतर र विद्यावारिधि गरेकी उनले स्कटल्यान्डको सेन्ट एन्ड्रयुस विश्वविद्यालयबाट संस्कृतिमा डिप्लोमा गरिन् । ४२ वर्षको उमेरमा पहिलो पटक उनको कविता ‘सर्ट टक’ प्रकाशित भएको थियो । त्यसै समयमा उनका समर्थक र उनको कृति पढ्न चाहनेको संख्या बढेको थियो ।
त्यसो त उनी आफ्ना व्यक्तिगत जीवनका पाटालाई बाहिर ल्याउन चाहँदिनन् । तथापि सन् २०१० मा उनको कृति ‘नस्क’ बजारमा आएको थियो । सो कृतिमा उनको भाइले जीवन र मृत्युसँग गरेको सङ्घर्षको बारे चर्चा गरिएको थियो ।
अनुवाद गर्ने उनको शैली भने अचम्मको थियो । नाट्य रूप दिन समेत उपयुक्त हुने उनको अनुवादमा धेरैको सहयोग रहने गरेको छ । खासमा उनी भाषाविद् र निर्देशक समेतसँग सल्लाह गरेर अनुवाद गर्ने गरेकी छन् । सन् २०२४ का विजेता हानकाङले एनी यो पुरस्कारका लागि उपयुक्त व्यक्ति भएको प्रतिक्रिया दिएका छन् ।
सीमा पार गर्ने हिम्मत !

संसारको साहित्यका भिन्न मान्यता र सीमाहरू समय–समयमा तय भएका छन् । साहित्य समीक्षकहरूले नै भने एनीलाई सबै किसिमको सीमा पार गर्न सक्ने कविको रूपमा लिएका छन् ।
स्वीडिस एकेडेमीका प्रमुख एनडर्स ओलसनले त एनीकै कारण कविताका बारे रहेका पुराना धेरै मान्यता समेत भत्किएको बताउँछन् । क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले यसले विश्व समुदायमा क्यानडाको सान बढाएको प्रतिक्रिया दिइसकेका छन् ।
कार्नीले सामाजिक सञ्जालमा लेख्दै उनको कल्पना क्षमता अद्भूत भएको प्रतिक्रिया दिएका छन् । संस्कृतिको प्राध्यापकको रूपमा लामो समय बिताएकी उनका धेरै कृति ग्रीक संस्कृतिबाट प्रभावित छन् ।
सन् २०१९ मा उनको कृति ‘नोर्मा जिन बाकर अफ ट्रोय’ प्रकाशमा आएको थियो । सो कृतिले मर्लिन मुनरोको जीवनको दुःखद घटना बाहिर ल्याएको थियो ।
इतिहास, सभ्यता र व्यक्तिको जीवनका आन्तरिक पाटालाई समेत सशक्त ढङ्गले प्रस्तुत गर्ने उनको शैलीलाई अन्ततः संसारले स्वीकार गरेको छ ।
साहित्यको नयाँ धार हुन्छ अथवा जनरा पनि हुन्छ । एनी कार्सनको रूपमा विश्व साहित्यमा नयाँ धार स्थापना भएको छ । यो धारलाई सायद धेरैले पछ्याउने पनि छन् ।
सङ्ख्यात्मक रूपमा उनले थोरै पुस्तक लेखेकी छन् । परन्तु ती थोरै पुस्तकले नै धेरै हलचल ल्याइदिएको छ । जे होस्, साहित्यमा उनले पाएको पुरस्कारको साथै उनले स्थापना गरेको धारको लामो समय चर्चा हुने नै छ ।
– अल जजिरा, बीबीसी र सीएनएनलगायतको सहयोगमा


मनोज घिमिरे 



















