काठमाडौं– अलास्काकी सोफिया ली २० वर्षको मात्र भइन् । उनले यात्रा तय गरेको ७ वर्ष हुन लागेको छ । उनले १३ वर्षको उमेरमै एक्लै यात्रा सुरु गरेकी थिइन् । उनको पहिलो यात्रा कोस्टारिकाको रहेको थियो । त्यस समयमा उनलाई संसारको सबै देश पुग्ने महिला बन्ने कुरामा शङ्का थियो ।
अहिले सबैभन्दा कम उमेरमा संसार भ्रमण गर्ने कीर्तिमान लेक्सी अलफोर्डको नाममा छ । उनले सन् २०१९ मा २१ वर्ष १७७ दिनको उमेरमा सो सफलता पाएकी हुन् ।
सात वर्षअघिको समय उनलाई अझ सम्झना छ । उनलाई एक्लै यात्रा गर्न अभिभावकको लिखित अनुमति चाहिएको थियो । पहिलो पटक उनका आमाबाबुले कोस्टारिका भ्रमण गर्न लिखित अनुमति दिएका थिए ।
आफ्ना अभिभावक नै सबै क्षेत्रमा घुम्ने गरेका कारण उनलाई कुनै कुराको डर थिएन । उनकी हजुरआमा संयुक्त राष्ट्रसङ्घको भोलेन्टियर कार्यक्रम पिस कर्पमा कार्यरत थिइन्, जसबाट नै उनले धेरै भ्रमणको चर्चा सुनेकी थिइन् ।
पहिलो यात्रापछि त उनको आत्मविश्वास झनै चुलिएको थियो । कोस्टारिका भ्रमण गरेको केही महिनापछि उनले योगा प्रशिक्षकको तालिम लिइन् । सोही तालिमपछि उनले धेरै देशमा प्रशिक्षककै रूपमा घुम्ने अवसर पाइन् ।
उनले १६ वर्षको उमेरमा हाईस्कुल सकेपछि फिल्मको अध्ययन गरिन् । यसपछि उनले विश्व कीर्तिमानको चाहना राखेकी हुन् । गिनिज बुक अफ वर्ल्ड रेकर्डका लागि प्रयास गरेपछि उनले केही मापदण्ड पूरा गर्नुपर्ने भएको थियो । उनको यात्राको रेकर्ड पनि ट्र्याक हुने गरेको छ ।
उनले प्राविधिक रूपमा यो चुनौती सन् २०२३ मा १७ वर्षको उमेरमा स्वीकार गरेकी हुन् । उनले यस कीर्तिमानी कामको सुरुवात युरोपबाट गरिन् । सुरुमा बेलायत पुगेकी उनले युरोपको यात्रा सहज भएको बताएकी छन् । त्यसपछि उनले एसिया र मध्यपूर्वको यात्रा गरेकी छन् ।
सोफियाले नेपालको समेत भ्रमण गरिसकेकी छन् । हाल १८० भन्दा बढी देशको भ्रमण गरिसकेकी उनले यो आफ्नो लागि जादुमय अनुभव भएको प्रतिक्रिया दिएकी छन् । उनी केही महिनामै आफ्नो नाममा नयाँ कीर्तिमान रहनेमा उत्साहित र विश्वस्त छिन् ।


विश्व खबर 



















