images
images
  • दुर्घटना न्यूनीकरण गर्न जनकपुरधाम र लालगढमा ‘रिफ्रेस सेन्टर’

    काठमाडौं – लामो दूरीको यात्रा गर्ने यात्रु तथा सवारी चालकको थकान कम गरी सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जनकपुरधाम र लालगढमा ‘रिफ्रेस सेन्टर’ स्थापना गरिएको छ ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनकपुरधामको रामानन्द चोक र लालगढस्थित ट्राफिक बिटमा सेन्टर सञ्चालनमा ल्याएको हो । चाडपर्वका समयमा सडकमा सवारीसाधनको चाप बढ्ने र लामो दूरीको यात्राका क्रममा चालक थकित हुँदा दुर्घटनाको जोखिम बढ्न सक्ने भएकाले यस्तो व्यवस्था गरिएको हो ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख खगेन्द्रकुमार दाहालका अनुसार रिफ्रेस सेन्टरमा सवारी चालक तथा यात्रुले केही समय आराम गर्न, चियापानी लिन र आवश्यक परामर्श प्राप्त गर्न सक्नेछन् ।

    लामो समयसम्म निरन्तर सवारी चलाउँदा चालकमा थकान बढ्ने र त्यसले सवारी दुर्घटनाको जोखिम निम्त्याउन सक्ने भएकाले चालकलाई विश्रामका लागि प्रोत्साहित गर्न सेन्टर स्थापना गरिएको प्रहरीले जनाएको छ ।

    चाडपर्वका बेला यात्रुको आवागमन बढ्ने भएकाले सुरक्षित यात्रालाई प्राथमिकता दिँदै ट्राफिक प्रहरीले विभिन्न सावधानीका उपाय अपनाउँदै आएको छ । रिफ्रेस सेन्टरले चालकको थकान कम गर्न र यात्रुलाई सहज बनाउनुका साथै सम्भावित सडक दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images