काठमाडौं – मुलुकभर सञ्चालित सामुदायिक विद्यालयमध्ये ८५ दशमलव ४ प्रतिशतमा इन्टरनेट सुविधा पुगेको छ । शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार विद्यालयमा सूचना प्रविधिको पहुँच विस्तार गर्ने क्रममा उक्त प्रगति भएको हो ।
मन्त्रालयका अनुसार २९ दशमलव ६ प्रतिशत सामुदायिक विद्यालयमा सूचना प्रविधि तथा सूचना सञ्चार प्रविधि प्रयोगशाला स्थापना भइसकेको छ । विसं २०७७ देखि सञ्चालनमा रहेको ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’अन्तर्गत ४ हजार ६ सय ८ विद्यालयमा सूचना प्रविधि प्रयोगशाला निर्माण गरिएको छ ।
त्यस्तै, सामुदायिक विद्यालयमध्ये ६९ दशमलव ६ प्रतिशतमा वैकल्पिक स्रोतबाट विद्युत् पहुँच पुगेको मन्त्रालयले जनाएको छ । मुलुकभर धार्मिक प्रकृतिका विद्यालयसमेत गरी ३५ हजार ९ सय ५१ विद्यालय सञ्चालनमा छन्। तीमध्ये २७ हजार १० सामुदायिक विद्यालय रहेका छन् ।
विद्यालय पूर्वाधारतर्फ विसं २०७२ को भूकम्पपछिको पुनर्निर्माणअन्तर्गत ७ हजार ६ सय ६७ विद्यालयको निर्माण सम्पन्न भएको छ भने थप १४ विद्यालय निर्माणाधीन अवस्थामा छन् । पश्चिम नेपालमा भूकम्पबाट क्षतिग्रस्त विद्यालयमध्ये सरकार तथा विभिन्न विकास साझेदारको सहयोगमा २ सय १६ विद्यालय पुनर्निर्माणको क्रममा रहेका छन् ।
त्यस्तै, २ हजारभन्दा बढी विद्यार्थी भएका ३६ विद्यालयमा थप पूर्वाधार विकासअन्तर्गत १२ कोठे भवन निर्माण भइरहेको मन्त्रालयले जनाएको छ । विद्यालयमा इन्टरनेट, सूचना प्रविधि प्रयोगशाला, विद्युत् तथा भौतिक पूर्वाधार विस्तार हुँदै जाँदा सामुदायिक शिक्षामा प्रविधिको पहुँच थप फराकिलो बन्दै गएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।


विश्व खबर 




















