काठमाडौं – लगातारको वर्षापछि आएको पहिरोले पाल्पामा जनजीवन प्रभावित बनेको छ । बस्ती, सडक र खेतीयोग्य जमिन चिरिन थालेपछि जिल्लाका विभिन्न स्थानका स्थानीय त्रासमा छन् । वर्षाजन्य विपद्का कारण पाँच जनाको मृत्यु भएको छ भने ६८ घरपरिवार पहिरोको जोखिममा परेका छन् ।
रिब्दीकोट गाउँपालिका–सिरुखर्कका मीनबहादुर थापा असोज ९ गते राति घरमुनिबाट आएको ठूलो आवाजले ब्युँझिए। बाहिर निस्कँदा घरको तलबाट पहिरो खसिरहेको देखेपछि उनले श्रीमती र दुई छोराछोरीलाई तत्काल छिमेकीको घरमा लगे ।
पहिरोले घरमुनिको जमिन बगाएपछि केही दिन आफन्तको घरमा बसेका थापा अहिले घर फर्किएका छन् । तर घरमाथिसमेत जमिन चिरिएपछि उनलाई अझै घरमा बस्न डर लागिरहेको छ ।
“वर्षा रोकिए पनि बस्नै डर भएको छ । राति झिमिक्कै निद्रा लाग्दैन,” थापाले भने, “दुःख गरेर बनाएको घर कतिबेला पहिरोले लैजान्छ भन्ने चिन्ता छ ।”
तिनाउ गाउँपालिका–कचलका थर्कबहादुर सारुको अवस्था पनि उस्तै छ । एउटै घर पहिरोको जोखिममा परेपछि उनी दिनभर आफ्नो घर र बारी हेर्छन् भने राति छिमेकीको घरमा आश्रय लिने गरेका छन् ।
देवगीर बजारमा २०० मिटर लामो धाँजा
माथागढी गाउँपालिका–४ देवगीरमा जमिन चिरिएपछि करिब ३० घरपरिवार उच्च जोखिममा परेका छन् । बासटारी–झडेवा–दुम्कीबास बहुप्रदेशीय सडकअन्तर्गत बजारको बीच भागबाटै करिब २०० मिटर लामो धाँजा फाटेको छ ।
जमिन चिरिएसँगै बालकृष्ण न्यौपाने, महेन्द्र केसी, केशरजङ्ग श्रेष्ठ र अर्जुन श्रेष्ठलगायतका घरमा चिरा देखिएका छन्। सडकसमेत केही स्थानमा भासिएको छ ।
स्थानीयले चिरिएको भागमा वर्षाको पानी नपसोस् भनेर प्लास्टिक तथा त्रिपाल ओछ्याएर अस्थायी रूपमा रोकथामको प्रयास गरिरहेका छन् ।
स्थलगत निरीक्षणपछि क्षेत्र उच्च जोखिमयुक्त देखिएकाले भूगर्भविद्बाट विस्तृत अध्ययन गराउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले बताए ।
सडक पूर्वाधार विकास कार्यालयका इन्जिनियर तेजप्रसाद अधिकारीले प्रारम्भिक अवलोकनमा क्षेत्र जोखिमपूर्ण देखिए पनि जमिन कुन कारणले र कस्तो प्रकृतिले चिरिएको हो भन्ने विषय विस्तृत भूगर्भीय अध्ययनपछि मात्र स्पष्ट हुने बता ।
भूगर्भविद्को अध्ययन प्रतिवेदन नआएसम्म जोखिम बढ्न सक्ने भन्दै देवगीर क्षेत्रमा ठूला तथा भारी सवारीसाधन सञ्चालनमा रोक लगाइएको गाउँपालिकाले जनाएको छ ।
६८ घरपरिवार जोखिममा
जिल्ला प्रशासन कार्यालयका अनुसार असोज ८ गतेदेखि परेको अविरल वर्षाका कारण पाल्पाका विभिन्न क्षेत्रमा ३३ घरमा क्षति पुगेको र ६८ घर जोखिममा परेका छन्। त्यस्तै १० गोठमा क्षति पुगेको छ भने थप आठ गोठ जोखिममा छन् ।
विपद्का कारण जोखिममा परेका २० परिवारका ९० जनालाई सुरक्षित स्थानमा सारिएको प्रशासनले जनाएको छ ।
पहिरोमा पाँच जनाको ज्यान गयो
चार दिनसम्म परेको अविरल वर्षापछि गएको पहिरोमा परी पाल्पामा पाँच जनाको मृत्यु भएको छ ।
माथागढी गाउँपालिका–३ कसेनी भैँसीकट्टामा घर पुरिँदा ७५ वर्षीय लिलबहादुर घर्तीमगर, उनकी १७ वर्षीया छोरी दिना घर्ती र छिमेकी मोतिलाल घर्तीकी १५ वर्षीया छोरी झरना घर्तीको मृत्यु भएको छ ।
यस्तै, माथागढी गाउँपालिका–२ रुप्से रजौलीका ७५ वर्षीय शेरबहादुर चिदी र रिब्दीकोट गाउँपालिका–६ ठिमुरे धुस्तुङकी ५९ वर्षीया कृष्णकुमारी सारुको पनि पहिरोमा परी मृत्यु भएको प्रहरीले जनाएको छ ।
सडक र पुलमा क्षति, गाउँको सम्पर्क प्रभावित
वर्षापछि आएको पहिरो र बाढीले जिल्लाका ग्रामीण सडक तथा पुलमा समेत ठूलो क्षति पुगेको छ। सिद्धार्थ राजमार्गको बर्तुङ–राम्दी सडकखण्डअन्तर्गत चिदिपानी–धेरैनी क्षेत्रमा सडकको तल्लो भाग कटान हुँदा राजमार्गको आधा भाग भासिएको छ ।
रैनादेवी छहराको सुन्दरेढुङ्गा, रिब्दीकोटको मुझुङ–मैनादी, पूर्वखोला तथा माथागढी केन्द्रदेखि रूपन्देहीको खैरेनी जोड्ने सडकमा समेत पहिरोले क्षति पुर्याएको छ ।
सडक अवरुद्ध भएपछि गाउँको यातायात सम्पर्क प्रभावित भएको छ। दूध, तरकारी, खुर्सानीलगायत कृषि उपज बजारसम्म पुर्याउन नसक्दा किसान थप मारमा परेका छन् ।
पुलमा क्षति भएपछि आवागमन रोकियो
कालीगण्डकी नदीमा आएको बाढीले रामपुर नगरपालिका–३ केलादीस्थित मोटरेबल पुलमा समेत क्षति पुर्याएको छ। बाढी पुलभन्दा माथिबाट बगेपछि पाल्पातर्फका दुईवटा खण्डमा क्षति पुगेको सडक डिभिजन कार्यालयले जनाएको छ ।
पुलका बेरिङ, बेरिङ रोक्ने संरचना तथा रेलिङमा क्षति पुगेको छ। पुलमा जोखिम बढेपछि तत्कालका लागि आवागमन रोकिएको छ ।
रामपुर–मित्याल हुँदै पूर्वी नवलपरासीको अरुणखोला जोड्ने सडकखण्डको अर्को पुलमा समेत क्षति पुगेपछि आवागमन प्रभावित भएको छ ।
बाढीले धानबालीमा पनि क्षति
वर्षा र बाढीले जिल्लाका किसानको धानबालीमा समेत ठूलो क्षति पुर्याएको छ । तिनाउ, माथागढी, बगनासकाली, तानसेन र पूर्वखोलालगायत क्षेत्रमा लगाइएको धानबाली प्रभावित भएको छ ।
कृषि ज्ञान केन्द्र पाल्पाका अनुसार प्रारम्भिक अनुमानमा तीन सयभन्दा बढी किसानको खेती प्रभावित भएको छ। तिनाउ, तानसेन, धोन्द्रे, सिप्जर, नायर र बाहखोक खोलामा आएको बाढीले धानबालीमा क्षति पुर्याएको हो ।
तिनाउ नदी आसपासको माडीफाँटको ठूलो क्षेत्र डुबानमा परेको थियो। खेतमा पाक्न लागेको धानसमेत बाढीले बगाएपछि किसान चिन्तित छन् ।
स्थानीय किसान मोहन रानाले तिनाउ नदी किनारमा रहेको सात रोपनी खेतमा लगाएको धान स्याहार्ने अवस्थामै नरहेको बताए ।
लगातारको वर्षाले घर, बस्ती, सडक, पुल र खेतीयोग्य जमिनमा क्षति पुर्याएपछि पाल्पाका प्रभावित क्षेत्रका बासिन्दा तत्काल राहतसँगै दीर्घकालीन जोखिम न्यूनीकरणको पर्खाइमा छन् ।


विश्व खबर 




















