images
images
  • बाढीमा ज्यान जोगाउने हेलिकोप्टर कम्पनी आफैं संकटमा, सरकारसँग १० करोडभन्दा बढी भुक्तानी बाँकी

    काठमाडौँ – रसुवामा आएको विनाशकारी बाढीका बेला जोखिम मोलेर नागरिकको उद्धारमा खटिएका निजी हेलिकोप्टर कम्पनी अहिले आफैं आर्थिक संकटमा परेका छन् । बाढीमा फसेका नागरिकको ज्यान जोगाउन हेलिकोप्टर उडाएको महिनौं बितिसक्दा पनि सरकारले करिब १० करोड रुपैयाँभन्दा बढी भुक्तानी गर्न बाँकी रहेको व्यवसायीहरूले बताएका छन् ।

    उद्धारका लागि हेलिकोप्टर सञ्चालन गर्दा कम्पनीहरूले आफ्नै खर्चमा इन्धन भरे, चालक तथा कर्मचारी परिचालन गरे र उडानसम्बन्धी अन्य खर्चसमेत बेहोरे । तर उद्धार उडानको रकम लामो समयदेखि नपाउँदा दसैंको मुखमा कम्पनीहरू सरकारसँग बक्यौता भुक्तानीका लागि धाउनुपर्ने अवस्थामा पुगेका छन् ।

    एक हेलिकोप्टर व्यवसायीका अनुसार कम्पनीहरूले इन्धनको रकम समयमै तिर्नुपर्छ भने उद्धार उडानबाट काटिएको बिलमा लाग्ने मूल्य अभिवृद्धि करसमेत सरकारले पहिले नै प्राप्त गरिसकेको छ । तर उडानको रकम भने अझै भुक्तानी नभएको उनको भनाइ छ ।

    “निजी कम्पनीले आफ्नै खर्चमा तेल हालेर उडाएको हुन्छ । चालक र कर्मचारीको तलब दिनुपर्छ । राज्यले दिने पैसा रोकिँदा ठूलो संकट परेको छ,” ती व्यवसायीले भने ।

    हेलिकोप्टर कम्पनीहरूले इन्धन खरिद गरेको सात दिनभित्र नेपाल आयल निगमलाई रकम बुझाउनुपर्ने व्यवस्था रहेको व्यवसायीहरूको भनाइ छ । उद्धार उडानका क्रममा काटिएका बिलमा लाग्ने मूल्य अभिवृद्धि करसमेत भदौमै सरकारलाई बुझाइसकेको उनीहरूले बताएका छन् ।

    दसैंअघि भुक्तानीको आशा

    उद्धार उडानमा वायुसेवा सञ्चालक संघले समन्वय गरेको भन्दै केही हेलिकोप्टर सञ्चालकले बक्यौता रकम उठाउन संघले अझ प्रभावकारी पहल गर्नुपर्ने बताएका छन् ।

    वायुसेवा सञ्चालक संघका अध्यक्ष प्रतापजंग पाण्डेका अनुसार बाढीपछि ११ वटा हेलिकोप्टर कम्पनी उद्धार कार्यमा परिचालन भएका थिए । ती कम्पनीको करिब १० करोड रुपैयाँभन्दा बढी रकम सरकारले भुक्तानी गर्न बाँकी रहेको उनले जानकारी दिए ।

    उनका अनुसार संघले गृह मन्त्रालयसँग पटकपटक छलफल गर्दै आएको छ । कम्पनीहरूले पठाएका बिलको जाँचसमेत भइसकेकाले दसैंअघि नै रकम भुक्तानी हुने अपेक्षा संघले गरेको पाण्डेले बताए ।

    संकटका बेला उडे, अहिले भुक्तानीको पर्खाइ

    भदौ १० गते चीनको तिब्बती क्षेत्रमा आएको बाढीका कारण रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको थियो । बाढीपछि सरकारले निजी तथा नेपाली सेनाका हेलिकोप्टरलाई खोज तथा उद्धार कार्यमा परिचालन गरेको थियो ।

    त्यतिबेला तत्काल उद्धार आवश्यक भएकाले निजी हेलिकोप्टर कम्पनीहरूले अग्रिम रकमको सुनिश्चितता नभए पनि जोखिम मोलेर उडान गरेका थिए । अहिले भने त्यही उद्धार कार्यमा लागेको रकम लामो समयसम्म भुक्तानी नहुँदा चालक तथा कर्मचारीको तलबदेखि दैनिक सञ्चालन खर्च व्यवस्थापनमा समेत समस्या पर्न थालेको व्यवसायीहरूको भनाइ छ ।

    नागरिकको ज्यान जोगाउन संकटका बेला परिचालित भएका हेलिकोप्टर कम्पनी अहिले आफ्नै खर्च धान्न संघर्ष गरिरहेका छन् । सरकारसँगको करिब १० करोड रुपैयाँभन्दा बढी बक्यौता कहिले भुक्तानी हुन्छ भन्ने प्रतीक्षामा उनीहरू रहेको बताउछन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images