काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मधेश क्लस्टरतर्फ सहमहामन्त्री पदका लागि मनिषकुमार मिश्रले उम्मेदवारी दर्ता गराएका छन् ।
मधेश क्लस्टरतर्फ सहमहामन्त्री पदमा आफ्नो उम्मेदवारी दर्ता गराउँदै मिश्रले कांग्रेसको संगठनलाई थप सुदृढ बनाउने तथा मधेशको प्रतिनिधित्वलाई प्रभावकारी बनाउने उद्देश्यसहित आफू अघि बढेको बताएका छन् ।
कांग्रेसको राजनीतिबाट राजनीतिक यात्रा सुरु गरेका मिश्र केही समय पार्टीबाहिर रहेर मधेश केन्द्रित राजनीतिमा सक्रिय भएका थिए । महन्थ ठाकुरले कांग्रेस छाडेर नयाँ दल गठन गरेपछि मिश्र पनि उनीसँगै बाहिरिएका थिए ।
त्यसपछि ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा मिश्रले केन्द्रीय महासचिव तथा प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए । मधेश केन्द्रित राजनीतिमा सक्रिय रहेपछि उनी पुन: नेपाली कांग्रेसमा फर्किएका हुन् ।
कांग्रेसमा फर्किएपछि सांगठनिक गतिविधिमा सक्रिय रहेका मिश्रले १५औँ महाधिवेशनमा मधेश क्लस्टरबाट सहमहामन्त्री पदमा उम्मेदवारी दिएका हुन् ।
मधेश क्लस्टरतर्फ मिश्रको उम्मेदवारीले पनि कांग्रेसभित्रको पदाधिकारी प्रतिस्पर्धालाई थप रोचक बनाएको छ ।


विश्व खबर 



















