काठमाडौं– बैंकिङ कसूर मुद्दामा दोषी ठहर भई फरार रहेका लक्ष्मण थोकरलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ ।
काठमाडौं जिल्ला अदालतको २०८३ असोज २ गतेको फैसलाले दक्षिणकाली नगरपालिका–६ का ४२ वर्षीय थोकरलाई बैंकिङ कसूर मुद्दामा एक करोड ३ लाख रुपैयाँ बिगो, बिगोको ५ प्रतिशत जरिवाना र ६ महिना कैद सजाय सुनाएको थियो ।
बतास ट्रयाक्टर्स प्रालिका तर्फबाट दिनेश गतराजले दिएको जाहेरीका आधारमा नेपाल सरकार वादी र थोकर प्रतिवादी रहेको बैंकिङ कसूर मुद्दा नं. ०८२–८१–२१०९ मा अदालतले उक्त फैसला गरेको हो । फैसलापछि सजाय बेरुजु रही फरार भएका थोकर काठमाडौं उपत्यकाका विभिन्न स्थानमा लुकिछिपी बस्दै आएको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले खोजी थालेको थियो ।
प्रहरी टोलीले असोज २० गते काठमाडौं महानगरपालिका–२७, महाबौद्धबाट थोकरलाई पक्राउ गरेको हो । पक्राउ परेका थोकरलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।


विश्व खबर 



















