images
images
  • ममता काफ्ले हत्या मुद्दाः दोस्रो दिन पनि जुरी छनोट र कानुनी बहस जारी

    काठमाडौं – अमेरिकाको भर्जिनिया राज्यस्थित मनासस अदालतमा ममता काफ्ले हत्या मुद्दाको सुनुवाइको दोस्रो दिन पनि निर्णायक मण्डल (जुरी) छनोटसँगै महत्वपूर्ण कानुनी बहस जारी रहेको छ । दुई वर्षअघि रहस्यमय रूपमा बेपत्ता भएकी ममता काफ्लेको हत्या गरेको अभियोगमा उनका पति नरेश भट्टमाथि मुद्दा चलिरहेको हो ।

    मंगलबारको सुनुवाइमा प्रहरी अनुसन्धानका क्रममा नरेश भट्टसँग गरिएको पोलिग्राफ परीक्षणको भिडियो अदालतमा प्रस्तुत गर्ने वा नगर्ने विषय प्रमुख विवादका रूपमा देखिएको छ । भर्जिनियाको कानुनअनुसार पोलिग्राफ परीक्षणको नतिजालाई अदालतमा प्रमाणका रूपमा स्वीकार गर्न मिल्दैन । तर सरकारी पक्षले परीक्षणको नतिजा नभई त्यस क्रममा गरिएको अन्तर्वार्ताको भिडियो मात्र अदालतमा देखाउन पाउनुपर्ने तर्क गरेको छ ।

    बचाउ पक्षले भने पोलिग्राफ परीक्षणसँग सम्बन्धित भिडियो नै अदालतमा स्वीकार गर्न नहुने जिकिर गरेको छ । दुवै पक्षको तर्क सुनेपछि न्यायाधीश किम्बर्ली इर्विङले विवादित भिडियो आफैं हेरेर त्यसलाई मुद्दामा प्रमाणका रूपमा समावेश गर्न दिने वा नदिनेबारे निर्णय गर्ने बताएकी छन् ।

    यसैबीच, मुद्दाको सुनुवाइका क्रममा पीडितको नाम कसरी उल्लेख गर्ने भन्ने विषयमा पनि सहमति भएको छ । अब अदालतमा ममतालाई उनका पतिको थर जोडेर नभई ‘ममता काफ्ले’ नामबाट मात्र सम्बोधन गरिनेछ ।

    सुनुवाइ सुरु हुनुअघि अभियुक्त भट्टले न्यायाधीश र आफ्ना कानुनी प्रतिनिधि परिवर्तन गर्न माग गरेका थिए । तर अदालतले उनको माग अस्वीकार गरिसकेको छ । त्यसपछि मुद्दाको प्रारम्भिक प्रक्रियाअन्तर्गत जुरी छनोटमा अदालतको ध्यान केन्द्रित भएको छ ।

    मुद्दाको निष्पक्ष सुनुवाइका लागि १७० भन्दा बढी सम्भावित जुरी सदस्यलाई अदालतमा बोलाइएको थियो । मंगलबार मध्याह्नसम्म १०० भन्दा बढीलाई छनोट प्रक्रियाबाट हटाइएको बताइएको छ । मुद्दाबारे पहिले नै जानकारी भएका वा घटनासम्बन्धी धारणा बनाइसकेका सम्भावित जुरी सदस्यसँग न्यायाधीश इर्विङले व्यक्तिगत रूपमा सोधपुछ गरेकी छन् ।

    अदालतले अब १२ जना मुख्य जुरी सदस्य र पाँच जना वैकल्पिक सदस्य छनोट गर्नेछ । जुरी गठन भएपछि मात्र मुद्दाको मुख्य सुनुवाइ अघि बढ्नेछ ।

    ममता काफ्ले हत्या मुद्दामा आगामी सुनुवाइका क्रममा दुवै पक्षबाट १०० भन्दा बढी साक्षी प्रस्तुत हुने अपेक्षा गरिएको छ। अनुसन्धानसँग सम्बन्धित दर्जनौं डिजिटल तथा फरेन्सिक प्रमाण पनि अदालतमा पेस हुनेछन् ।

    जुरी छनोटसँगै पोलिग्राफ भिडियोको स्वीकार्यता, प्रमाणको दायरा र अन्य प्रारम्भिक कानुनी प्रश्नमा भइरहेको बहसले मुद्दाको आगामी सुनुवाइलाई महत्वपूर्ण बनाएको छ। प्रारम्भिक कानुनी विषय टुंगिएपछि अदालतले ममता काफ्लेको मृत्यु र त्यससँग जोडिएका घटनाबारे मुख्य प्रमाण तथा साक्षीको सुनुवाइतर्फ प्रवेश गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images