काठमाडौं – शैक्षिक अवस्था सुधारको माग गर्दै फ्रान्सका उच्च विद्यालयका विद्यार्थीले सुरु गरेको आन्दोलनलाई ट्रेड युनियनहरुले समेत समर्थन जनाएका छन्। ट्रेड युनियनहरुले मङ्गलबार पेरिसमा भएको प्रदर्शनमा समेत सहभागिता जनाएका छन्। पेरिसमा भएको प्रदर्शनमा २० हजारदेखि ४० हजार प्रदर्शनकारी सहभागी भएको हुनसक्ने अनुमान गरिएको छ।
पछिल्ला प्रदर्शनमा प्रहरीसँग झडप र सार्वजनिक सम्पत्तिमा क्षति भएपछि सरकारले शान्तिपूर्ण प्रदर्शनका लागि आग्रह गरेको छ।
सेप्टेम्बरको अन्त्यदेखि १५ देखि १७ वर्ष उमेरका विद्यार्थीले सयौं उच्च विद्यालयका प्रवेशद्वार अवरुद्ध गर्दै शिक्षकको अभाव, अत्यधिक व्यस्त समयतालिका, जीर्ण कक्षाकोठा र बढ्दो तापक्रमअनुकूल नभएका भवनको समस्या समाधान गर्न माग गर्दै आएका छन्। विद्यार्थीहरुको आन्दोलनका कारण देशभरका तीन हजार सात सय उच्च विद्यालयमध्ये ५८९ मा पढाइ प्रभावित भएको बताइएको छ।
सरकारका अनुसार आन्दोलन सुरु भएयता २१५ विद्यार्थी र ७१५ प्रहरी अधिकारी घाइते भएका छन्। सोमबार प्रहरीले प्रहार गरेको स्टिङ–बल ग्रेनेड उठाउने क्रममा १५ वर्षीय एक विद्यार्थीले हात गुमाएका छन्।
सिजिटी ट्रेड युनियनकी प्रमुख सोफी बिनेटले विद्यार्थीको सुरक्षाका लागि आफ्ना सदस्य प्रदर्शनमा सहभागी भएको बताए। विभिन्न युनियनले प्रहरीको बल प्रयोग असमान भएको आरोप लगाएका छन्।
गृहमन्त्री लरेन्ट नुनेजका अनुसार प्रहरीको बल प्रयोगबारे १० वटा आन्तरिक अनुसन्धान सुरु गरिएको छ।
आन्दोलनका क्रममा २४ विद्यालयमा आगजनी वा तोडफोड भएको र पाँच हजारभन्दा बढी व्यक्ति पक्राउ परेको सरकारले जनाएको छ। पक्राउ पर्नेमा ८७ प्रतिशत नाबालिग छन्भ। त्यस्तै ८५ शिक्षक तथा विद्यालय कर्मचारी घाइते भएका छन्।
प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले शिक्षकको अभाव र जीर्ण विद्यालय भवनको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन्। सरकारले सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउनेलाई मर्मत खर्च आफैँ व्यहोर्न बाध्य बनाउने कानून ल्याउने तयारी गरेको छ। युनियनकी प्रमुख बिनेटले भने यस्तो व्यवस्थाले कमजोर परिवारलाई बढी असर पार्ने बताएका छन्।


विश्व खबर 



















