काठमाडौं– मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला अदालत काठमाडौंको थुनछेक बहसपछि २ लाख धरौटीमा छुटेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रचना खतिवडाले दिएको उजुरीका आधारमा पक्राउ परेका प्रसाईंलाई मंगलबार जिल्ला अदालत काठमाडौंले २ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
प्रसाईंले केही दिनअघि सामाजिक सञ्जालमार्फत जेनजी शहीद रसिक खतिवडाबारे अपमानजनक टिप्पणी गरेको आरोप छ।
सामाजिक सञ्जालमा ‘छोराको लाससँग सांसद पद साटेको’ भन्ने आशयको टिप्पणी गरिएको भन्दै सांसद खतिवडाले प्रतिनिधिसभाको बैठकमै आपत्ति जनाएकी थिइन्।
प्रसाईंलगायतले आफू र शहीद छोरालाई लक्षित गरी अपमानजनक टिप्पणी गरेको भन्दै खतिवडाले साइबर ब्युरोमा उजुरी दिएकी थिइन्। सोही उजुरीका आधारमा अनुसन्धानका लागि प्रसाईंलाई प्रहरीले यही असोज १२ गते पक्राउ गरेको थियो।
पक्राउपछि उनलाई अनुसन्धानका लागि हिरासतमा राखिएको थियो। त्यसपछि उनकी श्रीमतीले प्रसाईंलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्।
सर्वोच्च अदालतले यसअघि प्रसाईंलाई पक्राउ गर्नुको कारणसमेत पेस गर्न प्रहरीलाई आदेश दिएको थियो। साथै अनुसन्धान तथा म्याद थपसम्बन्धी सक्कल फाइल झिकाउन आदेश दिइएको थियो।


विश्व खबर 



















