काठमाडौं – सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ यही असोज २६, २७ र २८ गते गर्ने भएको छ।
समितिको आज बसेको बैठकमा सभापति बोधनारायण श्रेष्ठले असोज २६ र २७ गते सामान्य प्रकृतिका उजुरी वा सुझाव परेका प्रस्तावित राजदूतहरूको सुनुवाइ गर्नेगरि तयारी भइरहेको जानकारी दिए।
बाँकी गम्भीर प्रकृतिका उजुरी परेका प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २८ गते गर्ने तयारी भइरहेको जानकारी दिँदै उपसमिति बनाउनुपर्ने खालका भए दसैँपछि सुनुवाइ हुने जानकारी दिए।
उनले केही उजुरी सामान्य प्रकृतिका रहेको र केही उजुरीका सम्बन्धमा समितिले छुट्टै अध्ययन आवश्यक पर्ने अवस्था रहेको बताए। जटिल प्रकृतिका उजुरी आएमा त्यस्ता विषयलाई छुट्टै अध्ययनका लागि राखेर अन्य सुनुवाइ अघि बढाउन सकिने उनको भनाइ थियो।
सभापति श्रेष्ठले समितिका सदस्यहरूलाई बिदाको समयमा समेत प्रस्तावित राजदूतसम्बन्धी विषय अध्ययन गर्न आग्रह गरे।
उनले प्रस्तावित राजदूतविरुद्ध प्राप्त उजुरी र उनीहरूले पेस गरेको कार्ययोजनासम्बन्धी विवरण अध्ययनका लागि समितिका सदस्यहरूलाई उपलब्ध गराइसकिएको जानकारी दिए।
यही असोज २ गते बसेको मन्त्रिपरिषद्को बैठकले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत नियुक्त गर्न नाम सिफारिस गरेको थियो।
निर्णयअनुसार भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा र संयुक्त राज्य अमेरिकाका लागि चिरनजंग थापाको नाम सिफारिस गरेको छ।
त्यस्तै संयुक्त अधिराज्यका लागि पूर्वप्रधानसेनापति गौरवशमशेर जबरा, जापानका लागि जिज्ञनकुमार थापा, इजरायलका लागि सुरेशकुमार कर्ण र स्पेनका लागि प्राप्ति शेरचनलाई प्रस्तावित राजदूतका रूपमा अघि सारिएको छ।
जर्मनीका लागि शारू जोशी, ओमानका लागि डा. पद्माक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल तथा दक्षिण कोरियाका लागि प्रा.डा. संगम श्रेष्ठको नाम सिफारिस गरिएको छ।
यसैगरी श्रीलंकाका लागि डा. मञ्चल झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनारलाई राजदूतका रूपमा सिफारिस गरिएको छ।
संसदीय सुनुवाइबाट अनुमोदन भएपछि सम्बन्धित देशबाट सहमति प्राप्त गर्ने प्रक्रिया अघि बढ्ने र त्यसपछि राष्ट्रपतिबाट राजदूत नियुक्त हुने संवैधानिक व्यवस्था छ।


विश्व खबर 



















