images
images
  • बढ्दो व्यापार घाटाबीच ईयू-चीन वार्ता हुँदै

    काठमाडौं । बढ्दो व्यापार असन्तुलन र औद्योगिक प्रतिस्पर्धाबीच व्यापार तनाव कम गर्न युरोपेली सङ्घ (ईयू) र चीन वार्तामा जुट्ने भएका छन्। ईयूका व्यापार प्रमुख मारोस सेफकोभिक बिहीबार दुईदिने वार्ताका लागि बेइजिङ जाने कार्यक्रम छ।

    सन् २०२५ मा चीनसँग ईयूको व्यापार घाटा करिब तीन खर्ब ६० अर्ब युरो पुगेको थियो। चीनबाट विद्युतीय तथा हाइब्रिड कार, मेसिनरी, कपडा, धातु र रसायनलगायत वस्तुको आयात बढिरहेकाले ईयूले युरोपेली उद्योगको संरक्षणका उपाय अघि बढाइरहेको छ।

    गत जुनदेखि जारी वार्तामा ईयूले चिनियाँ आयात व्यवस्थापन, चीनमा युरोपेली निर्यात बढाउने तथा दुर्लभ खनिजलगायत महत्त्वपूर्ण सामग्रीको निर्यातलाई सहज र पूर्वानुमानयोग्य बनाउने विषयमा प्रगति चाहेको छ। ईयूले हाइब्रिड कारलगायत चिनियाँ उत्पादनमा स्वैच्छिक निर्यात सीमा तोक्ने विकल्प पनि अघि सारेको छ। तर चीनले आयात कोटा वा कडा प्रतिबन्धको विरोध गर्दै आएको छ।

    ईयूले चीनमाथिको निर्भरता घटाउन आपूर्तिकर्ता विविधीकरण तथा आफ्ना उद्योगको संरक्षणका लागि नयाँ व्यापारिक उपाय तयार गरिरहेको छ। बेइजिङले भने ईयूका ‘भेदभावपूर्ण प्रतिबन्धात्मक उपाय’ विरुद्ध कडा प्रतिक्रिया दिने चेतावनी दिएको छ।

    विज्ञहरूले यस साताको वार्ताबाट समग्र व्यापार सम्बन्धमा ठूलो उपलब्धिभन्दा विशिष्ट विषयमा सहमति हुन सक्ने बताएका छन्। जर्मन मार्शल फन्डकी पेनी नासले ईयूसँग चीनबाट आएको चुनौती सामना गर्न थप आक्रामक कदम चाल्ने क्षमता भए पनि त्यसका लागि राजनीतिक इच्छाशक्ति कति छ भन्ने प्रश्न बाँकी रहेको बताएका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images