काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सभापति पदमा वर्तमान सभापति गगन थापाबाहेक अहिलेसम्म कसैले दाबी प्रस्तुत गरेका छैनन् ।
महाधिवेशनमा उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा केन्द्रीय सदस्य पदमा भने आकांक्षीहरू बढिरहेका छन् ।
कांग्रेस नेताहरूका अनुसार सभापतिमा थापाको विकल्पबारे अहिलेसम्म औपचारिक रूपमा कुनै नेताले दाबी गरेका छैनन् ।
मीन विश्वकर्मा, पुष्पा भुसाल, प्रदीप पौडेल र गुरु घिमिरेलगायतका नेताले थापा नै सभापतिको दावेदार रहेको बताएका छन् ।
महाधिवेशनमा उपसभापतिका लागि पुष्पा भुसाल, धनराज गुरुङ र विश्वप्रकाश शर्मा आकांक्षी देखिएका छन् ।
महामन्त्रीमा गुरु घिमिरे, प्रदीप पौडेल र मीन विश्वकर्मालगायतका नेताहरूले तयारी अघि बढाएका छन् ।
यसपटक कांग्रेसको केन्द्रीय कार्यसमिति २३१ सदस्यीय बन्नेछ ।
एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्री निर्वाचित हुनेछन् ।
कोषाध्यक्षसहित तीन सहमहामन्त्री भने सभापतिले मनोनयन गर्न पाउने व्यवस्था छ ।
महाधिवेशनका लागि करिब ७ हजार प्रतिनिधि सहभागी हुने कांग्रेस नेताहरूको भनाइ छ ।
तीमध्ये ३० वर्षमुनिका युवाको समेत उल्लेख्य प्रतिनिधित्व हुने बताइएको छ ।
कार्यतालिकाअनुसार १८ गते काठमाडौंको खुलामञ्चमा महाधिवेशन उद्घाटन, १९ र २० गते बन्दसत्र तथा २१ र २२ गते निर्वाचन गर्ने तयारी छ ।
यसैबीच कांग्रेसभित्र पूर्वसभापति शेरबहादुर देउवा पक्षको समानान्तर गतिविधि र छुट्टै महाधिवेशनको तयारीसमेत जारी रहेको छ ।
पार्टीभित्रको विवाद अदालतसम्म पुगे पनि कांग्रेसको संस्थापन पक्ष भने निर्धारित कार्यतालिकाअनुसार १५औँ महाधिवेशन अघि बढाउने तयारीमा छ ।


विश्व खबर 



















