images
images
  • बाढीपहिरोले गुल्मीका मुख्य तथा ग्रामीण सडक अवरुद्ध

    काठमाडौं – एक सातादेखिको अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण गुल्मीका मुख्य तथा ग्रामीण सडक अवरुद्ध भएका छन् । सडक अवरुद्ध हुँदा चाडपर्वका बेला सर्वसाधारणको आवतजावतसँगै अत्यावश्यक सामग्री ढुवानी प्रभावित भएको छ ।

    जिल्लाको प्रमुख सडकका रूपमा रहेको कालीगण्डकी करिडोरअन्तर्गत कालीगण्डकी गाउँपालिका–२ राक्सेमा ठूलो पहिरो खसेपछि पाँच दिनदेखि यातायात सञ्चालन हुन सकेको छैन ।

    करिडोरको गुल्मी खण्डका विभिन्न स्थानमा पहिरो खस्नुका साथै सडक भासिएपछि यातायात सञ्चालनमा कठिनाइ भएको हो ।

    अवरुद्ध सडक खुलाउन उक्त क्षेत्रमा स्काभेटर परिचालन गरी पहिरो हटाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख भिमकिरण बोगटीले जानकारी दिनुभयो ।

    त्यस्तै, रुद्रवेणी–वामीटक्सार सडकखण्ड पनि चार दिनदेखि अवरुद्ध छ। चन्द्रकोट गाउँपालिका–७ सिस्नेभीरमा पहिरो खसेपछि सडक पूर्णरूपमा अवरुद्ध भएको हो ।

    वर्षा रोकिएपछि स्थानीय पालिका र सडक निर्माण कम्पनीको सहयोगमा डोजर तथा एक्साभेटर प्रयोग गरी पहिरो हटाउने काम भइरहेको छ ।

    इन्द्रेगौँडा–रातडाँडा–तम्घास सडकखण्डसमेत पहिरोका कारण अवरुद्ध भएको छ । मुसिकोट नगरपालिका–३ स्थित ताउखोलामा सडक माथिबाट पहिरो खसेपछि आइतबारदेखि सडक पूर्णरूपमा बन्द भएको हो ।

    वर्षाका कारण जिल्लाका अधिकांश ग्रामीण सडक अवरुद्ध हुँदा यातायात सेवा प्रभावित भएको छ ।

    मुख्य तथा ग्रामीण सडक बन्द हुँदा चाडपर्वका बेला सर्वसाधारणलाई आवतजावत, दैनिक प्रशासनिक काम तथा खाद्यान्नलगायत अत्यावश्यक सामग्री ढुवानीमा समस्या भएको छ ।

    स्थानीय पालिकाले अवरुद्ध सडक खुलाउन काम सुरु गरेका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार मंगलबारसम्म जिल्लाका अधिकांश अवरुद्ध सडक सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

    यसैबीच, भारी वर्षा तथा बाढीपहिरोको जोखिमलाई ध्यानमा राख्दै शुक्रबारदेखि जिल्लाभर रोक लगाइएको सवारी आवागमन आजदेखि खुला गरिएको छ ।

    बाढीपहिरोका कारण जिल्लाभर २४१ घरधुरी जोखिममा परेका छन् भने करोडौँ रुपैयाँ बराबरको भौतिक क्षति भएको प्रशासन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images