images
images
  • बाढीपहिरोले ४८३ मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिरियो

    काठमाडौं – अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण विभिन्न जलविद्युत् आयोजना तथा प्रसारण संरचनामा क्षति पुग्दा ४८३ मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिरिएको छ ।

    नेपाल विद्युत् प्राधिकरणका अनुसार बाढीपहिरोबाट उत्पादन, प्रसारण तथा वितरण संरचनामा पुगेको क्षतिको मर्मत तथा पुनःस्थापनाको काम भइरहेको छ ।

    बाढीका कारण कुश्मा–दाना प्रसारण लाइनमा क्षति पुगेपछि करिब १९० मेगावाट क्षमताका सात जलविद्युत् केन्द्रको विद्युत् प्रसारण हुन सकेको छैन। क्षतिग्रस्त प्रसारण लाइन मर्मत गरी विद्युत् प्रवाह पुनःस्थापना गर्ने काम भइरहेको प्राधिकरणले जनाएको छ ।

    राहुघाट जलविद्युत् आयोजनाको टेलरेस गेट, डक्ट र टेलरेसको भुइँमा समेत क्षति पुगेको छ। क्षतिग्रस्त संरचना सफा गरी आयोजना सञ्चालनमा ल्याउन करिब १० दिन लाग्ने प्रारम्भिक अनुमान प्राधिकरणको छ । राहुघाटबाट ८० मेगावाटबाहेक १२७ मेगावाट विद्युत् उत्पादन सञ्चालनमा ल्याउन सकिने अवस्था रहेको प्राधिकरणले जनाएको छ ।

    त्यस्तै, प्रणालीबाट बाहिर रहेका छवटा विद्युत् आयोजनाको कुल क्षमता २३० मेगावाट रहेको छ ।

    सेती–मादी क्षेत्रमा बाढीका कारण अवरुद्ध जलविद्युत् केन्द्रहरूको कुल क्षमता २६२ मेगावाट रहेको छ भने मस्र्याङ्दी क्षेत्रमा १९० मेगावाट क्षमताका आयोजना प्रभावित भएका छन् ।

    बाढीका कारण १४४ मेगावाट क्षमताको कालीगण्डकी जलविद्युत् केन्द्रसमेत प्रभावित भएको छ । प्राधिकरणले क्षतिको अवस्था मूल्याङ्कन गरी क्रमशः आयोजनाहरू सञ्चालनमा ल्याउने जनाएको छ ।

    केही क्षेत्रमा विद्युत् आपूर्ति पुनःस्थापित

    बाढीका कारण केही दिनदेखि विद्युत् अवरुद्ध रहेका क्षेत्रमध्ये म्याग्दी, बागलुङ र तनहुँको झापाटारस्थित विद्युत् केन्द्र तथा रुकुम पूर्वमा विद्युत् आपूर्ति पुनःस्थापित भएको प्राधिकरणले जनाएको छ ।

    मुस्ताङ, प्युठान र रोल्पामा आज अपराह्नसम्म विद्युत् आपूर्ति सञ्चालन गर्ने तथा मनाङमा भोलिसम्म विद्युत् आपूर्ति सुचारु गर्ने योजना प्राधिकरणले बनाएको छ ।

    भारतबाट विद्युत् आयात बढाउने तयारी

    आन्तरिक उत्पादन प्रभावित भए पनि विद्युत् माग व्यवस्थापन गर्न भारतबाट थप विद्युत् आयात गर्ने तयारी प्राधिकरणले गरेको छ ।

    प्राधिकरणका अनुसार आन्तरिक उत्पादनबाट करिब एक हजार २७५ मेगावाट विद्युत् उपलब्ध हुने अनुमान छ ।

    माग र आपूर्तिबीच सन्तुलन कायम गर्न ढल्केबर–मुजफ्फरपुरबाट ६०० मेगावाट, टनकपुर–महेन्द्रनगरबाट ५४ मेगावाट, बिहारका विभिन्न बिन्दुबाट ३५० मेगावाट र आरटीसीमार्फत १४० मेगावाट विद्युत् आयात गर्ने योजना छ ।

    बाढीपहिरोका कारण उत्पादन तथा प्रसारण संरचनामा क्षति पुगे पनि वैकल्पिक स्रोतबाट विद्युत् आपूर्ति व्यवस्थापन गर्ने तयारी गरिएको प्राधिकरणले जनाएको छ ।

    क्षतिग्रस्त उत्पादन, प्रसारण तथा वितरण संरचनाको अवस्था मूल्याङ्कन गरी प्राविधिक टोली परिचालन गरिएको प्राधिकरणले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images