काठमाडौं – भरतपुरस्थित कारागार कार्यालय चितवनमा रहेका ७६१ बन्दीमध्ये ६९ जना विभिन्न दीर्घ तथा जटिल रोगबाट पीडित रहेका छन् ।
कारागार कार्यालयका अनुसार बिरामीमध्ये उच्च रक्तचाप, मधुमेह, क्षयरोग, मानसिक रोग, क्यान्सर तथा एचआइभी सङ्क्रमणलगायतका समस्या रहेका छन् । उच्च रक्तचाप र मधुमेहका बिरामीको सङ्ख्या सबैभन्दा बढी छ ।
तथ्याङ्कअनुसार ४२ जना बन्दी उच्च रक्तचाप र २२ जना मधुमेहबाट पीडित छन् । यस्तै, हाल कारागारमा तीन जना क्यान्सरका बिरामी रहेका छन्। तीमध्ये दुई जना कारागारमै र एक जना अस्पतालमा उपचाररत छन् ।
कारागार कार्यालयका सूचना अधिकारी चेतनाथ ढुङ्गानाका अनुसार क्यान्सरका कारण कारागारमा बर्सेनि बन्दीको मृत्यु हुने गरेको छ। विभिन्न कारागारबाट क्यान्सरका बिरामीलाई उपचारका लागि भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पठाइने र अन्तिम चरणमा पुगेका बिरामीको उपचारकै क्रममा मृत्यु हुने गरेको उहाँले बताउनुभयो ।
कारागार कार्यालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८३/८४ मा क्यान्सरका कारण एक जना बन्दीको मृत्यु भएको छ । यसअघि आर्थिक वर्ष २०८२/८३ मा एक जना र २०८१/८२ मा एक जना बन्दीको क्यान्सरका कारण मृत्यु भएको थियो ।
सूचना अधिकारी ढुङ्गानाका अनुसार हाल क्यान्सरका एक जना र अन्य रोगका एक जना गरी दुई जना बन्दी अस्पतालमा भर्ना भएर उपचार गराइरहेका छन् । कारागारभित्र रहेका बिरामी बन्दीको दैनिक स्वास्थ्य परीक्षण गर्नुका साथै आवश्यक औषधोपचार स्वास्थ्यकर्मीबाट भइरहेको उहाँले बताउनुभयो ।
कारागारमा रहेका एचआइभी सङ्क्रमित पाँच जना बन्दीले नियमित रूपमा एआरटी औषधि सेवन गरिरहेका छन् ।
हाल जिल्ला कारागार कार्यालय चितवनमा ७१७ पुरुष, ४२ महिला र दुई जना आश्रित नाबालक गरी कुल ७६१ जना रहेका छन् ।


विश्व खबर 

















