काठमाडौं – नारायणी नदीमा आएको बाढीले बगाएर पुलमा अड्किएको राइनो क्रुज निकाल्न सडक विभागले तीन वटा क्रेन परिचालन गरेको छ ।
सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता शुभराज न्यौपानेका अनुसार करिब ७० टन तौलको क्रुजलाई क्रेनको सहायताले निकाल्ने काम भइरहेको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगको समन्वयमा क्रुज निकाल्ने काम भइरहेको उहाँले बताउनुभयो ।
न्यौपानेका अनुसार क्रुजसम्म पुग्न सडक विभागले बाटो खोलिसकेको छ। क्रुज निकाल्न बुटवल–नारायणगढ सडक आयोजनाका दुई वटा क्रेन तथा त्रिशूली क्षेत्रमा रहेको जलविद्युत् आयोजनाको ८० टन क्षमताको एउटा क्रेन प्रयोग गरिएको छ ।
लगातारको वर्षाका कारण गण्डकी जलाधार क्षेत्रमा पानीको बहाव बढेपछि नारायणी नदी खतराको तहभन्दा माथि पुगेको थियो ।
सोही क्रममा नदीमा सञ्चालन भइरहेको क्रुज बाढीले बगाएर पुलको दायाँ किनारातर्फको अन्तिम पियर र एबटमेन्टको बीचमा अड्किएको विभागले जनाएको छ ।
सडक विभागका प्रवक्ता न्यौपानेले क्रुज सुरक्षित स्थानमा राख्नुपर्ने भए पनि बाढीले बगाएर पुलमा अड्किएको बताउनुभयो । विभागको टोलीले क्रुज हटाउने कामको नेतृत्व गरिरहेको उहाँले जानकारी दिनुभयो ।
झन्डै १५ करोड रुपैयाँ लगानीमा निर्माण गरिएको राइनो क्रुज नेपालमा सञ्चालनमा आएको पहिलो क्रुज हो ।
पृथ्वीराजमार्ग आज साँझसम्म खुलाउने तयारी
सडक विभागले पृथ्वीराजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने तयारी गरेको छ ।
विभागका अनुसार राजमार्गका विभिन्न स्थानमा गएको पहिरो हटाइसकिएको छ । कृष्णभीरमा रहेको ठूलो ढुङ्गा हटाउने काम भइरहेको र त्यसपछि राजमार्ग सञ्चालनमा ल्याउने तयारी गरिएको प्रवक्ता न्यौपानेले बताए ।
वर्षाका कारण अन्य राजमार्ग तथा पुलमा पुगेको क्षतिको विवरण संकलन भइरहेको उनले जानकारी दिनुभयो। सडक तथा राजमार्ग सञ्चालनमा ल्याउन सरकारी तथा निजी क्षेत्रबाट समेत मेसिन तथा उपकरण भाडामा लिएर परिचालन गरिएको विभागले जनाएको छ ।
बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुललाई समेत तत्काल सञ्चालनमा ल्याउने गरी मर्मतको काम भइरहेको छ। पुल मर्मतका लागि आवश्यक मेसिन तथा उपकरण यसअघि नै घटनास्थलमा पठाइसकिएको विभागले जनाएको छ ।


विश्व खबर 

















