images
images
  • क्षमताभन्दा ७६ जना बढी कैदीबन्दी भएपछि कपिलवस्तु कारागारमा व्यवस्थापन चुनौती

    कपिलवस्तु – कपिलवस्तु कारागारमा क्षमताभन्दा ७६ जना बढी कैदीबन्दी भएपछि व्यवस्थापनमा चुनौती देखिएको छ ।

    करिब ३५० जना कैदीबन्दी राख्न सक्ने क्षमता रहेको कारागारमा हाल ४२६ जना कैदीबन्दी रहेको कारागार प्रमुख मानबहादुर सारुले जानकारी दिनुभयो ।

    कारागार व्यवस्थापन विभागले पछिल्लो समय ५० जना महिला कैदीबन्दीसमेत कपिलवस्तु कारागारमा थप गरेको छ । यसअघि पुरुष कैदीबन्दी मात्रै राखिँदै आएको कारागारमा महिला कैदीबन्दी थपिएपछि व्यवस्थापनमा थप चुनौती देखिएको कारागार प्रशासनले जनाएको छ ।

    क्षमताभन्दा बढी कैदीबन्दी

    कारागार प्रमुख सारुका अनुसार ब्लक ‘ए’ मा १८० जनाको क्षमता रहेकामा हाल २२७ जना कैदीबन्दी छन्। त्यस्तै, ब्लक ‘बी’ मा १७२ जनाको क्षमता रहेकामा १९९ जना कैदीबन्दी रहेका छन् ।

    क्षमताभन्दा बढी कैदीबन्दी हुँदा बसोबास, स्वास्थ्य, सरसफाइ तथा दैनिक व्यवस्थापनमा समस्या हुने गरेको उहाँले बताउनुभयो ।

    “उपलब्ध संरचनाको क्षमताभन्दा कैदीबन्दीको सङ्ख्या बढी छ, त्यसैले व्यवस्थापनमा चुनौती छ”, उहाँले भन्नुभयो ।

    पुरानो संरचनामा थप पूर्वाधार आवश्यक

    विसं १९९५ मा स्थापना भएको कपिलवस्तु कारागारको भौतिक संरचना पुरानो भएकाले कैदीबन्दीको बढ्दो सङ्ख्याअनुसार थप संरचना तथा आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता रहेको कारागार प्रमुख सारुले बताउनुभयो ।

    कैदीबन्दीको सङ्ख्या बढ्दै गएसँगै उपलब्ध संरचनामै व्यवस्थापन गर्न कठिनाइ भइरहेको भन्दै उहाँले कारागारको क्षमता विस्तार र आवश्यक पूर्वाधार विकासमा ध्यान दिनुपर्ने बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images