images
images
  • रचना खतिवडाको जाहेरीपछि दुर्गा प्रसाईं पक्राउ

    काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडाको जाहेरीपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् ।

    प्रहरीको साइबर ब्युरोले प्रसाईंलाई सोमबार भक्तपुरस्थित निवासबाटै पक्राउ गरेको हो । उनलाई खतिवडालाई लक्षित गरी सार्वजनिक रूपमा दिएको अभिव्यक्तिसम्बन्धी उजुरीका आधारमा अनुसन्धानका लागि पक्राउ गरिएको जनाइएको छ ।

    प्रसाईंले सार्वजनिक कार्यक्रममा खतिवडाले जेनजी आन्दोलनमा ज्यान गुमाएका आफ्ना छोरा रसिक खतिवडाको मृत्युको बदलामा सांसद पद प्राप्त गरेको आशयको टिप्पणी गरेका थिए ।

    उनले ‘छोराको लाससँग सांसद पद साटेको’ भन्ने अभिव्यक्ति दिएको विषयलाई लिएर खतिवडाले आपत्ति जनाउँदै आएकी थिइन् ।

    उक्त अभिव्यक्तिबारे खतिवडा गत मंगलबार प्रतिनिधिसभाको बैठकमा भावुक भएकी थिइन् । उनले आफू राजनीतिक रहर वा पदको लालचमा संसद्मा नआएको भन्दै जेनजी आन्दोलनका सहिदले न्याय नपाएसम्म आवाज उठाइरहने बताएकी थिइन् ।

    खतिवडाले जेनजी आन्दोलनका सहिदहरूले पूर्ण न्याय पाए आफू सांसद पदबाट राजीनामा दिन तयार रहेको बताएकी थिइन् । आफ्नो छोरालाई जीवित अवस्थामा फर्काइदिए आफू तत्काल सांसद पद त्याग्न तयार रहेको उनको भनाइ थियो ।

    रसिक खतिवडा जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेमध्येका एक हुन् । त्यसपछि उनकी आमा रचना खतिवडा छोराको न्यायको विषय उठाउँदै आएकी छन् । पछि उनी रास्वपाको समानुपातिक सूचीबाट प्रतिनिधिसभा सदस्य बनेकी हुन् ।

    प्रसाईं यसअघि पनि विभिन्न अभिव्यक्ति तथा साइबरसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ पर्दै आएका छन् । गत साउनमा पनि उनलाई भक्तपुरस्थित निवासबाटै प्रहरीले पक्राउ गरेको थियो ।

    हाल प्रसाईंमाथि खतिवडाको उजुरीसँग सम्बन्धित अभिव्यक्तिबारे साइबर ब्युरोले अनुसन्धान अघि बढाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images