images
images
  • चाडपर्वमा सार्वजनिक यातायातको भाडा नबढाउने व्यवसायीको प्रतिबद्धता

    काठमाडौं – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आसन्न चाडपर्वका अवसरमा सार्वजनिक यातायातको भाडा नबढाउने प्रतिबद्धता जनाएको छ ।

    सोमबार प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको बैठकमा महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले पेट्रोलियम पदार्थको मूल्य यथावत रहेसम्म हाल कायम भाडादरमै यात्रुलाई सेवा दिने स्पष्ट पारे ।

    उनले चाडपर्वमा अग्रिम टिकट बुकिङ मात्रै ठूलो विषय नभएको भन्दै यात्रुलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्‍याउनु मुख्य चुनौती रहेको बताए ।

    तोकिएको भाडादरमै सेवा

    अध्यक्ष सिटौलाले सवारी साधनको प्रकारअनुसार सरकारले निर्धारण गरेको भाडादर कार्यान्वयन गर्न व्यवसायी प्रतिबद्ध रहेको बताए । नर्मल, डिलक्स र सुपर डिलक्स सवारीका लागि तोकिएको भाडादरभन्दा बढी रकम नलिने उनको भनाइ थियो ।

    चाडपर्वको समयमा हुने यात्रुको एकतर्फी चाप व्यवस्थापनका लागि सरकारले समेत आवश्यक तयारी गर्नुपर्ने उनले बताए। मालवाहक सवारीलाई निश्चित समय रोक्ने व्यवस्था मिलाउन तथा सडक मर्मतलाई तीव्रता दिन उनले सरकारसँग आग्रह गरे ।

    तोकिएका स्थानबाट मात्रै टिकट काट्नुपर्ने

    सिटौलाले यात्रु ठगी रोक्न तोकिएको बसपार्क र आधिकारिक काउन्टरबाट मात्रै टिकट काट्ने व्यवस्था प्रभावकारी बनाउनुपर्ने बताए ।

    “तोकिएको बसपार्क र काउन्टरबाट मात्र टिकट काट्ने व्यवस्था मिलाउन सके यात्रु ठगीको समस्या हटेर जान्छ,” उनले भने ।

    दशैँका समयमा यात्रुवाहक सवारीलाई सडकमा पहिलो प्राथमिकता दिनुपर्ने तथा सडकका खाल्डाखुल्डी पुर्न र सडक सुरक्षामा १५ देखि २० दिन विशेष ध्यान दिनुपर्ने उनले बताए ।

    लामो दूरीका सवारीमा दुई चालक

    चाडपर्वका लागि अग्रिम बुकिङ गरिएका सवारीलाई अन्य प्रयोजनमा रिजर्भमा नपठाउन व्यवसायीलाई निर्देशन दिइएको सिटौलाले जानकारी दिए ।

    लामो दूरीका सवारीमा दुईजना चालक राख्ने व्यवस्थालाई समेत कडाइका साथ कार्यान्वयन गरिने उनले बताए ।

    सडकको दयनीय अवस्था तथा ठाउँ–ठाउँमा भइरहेको अवरोधका कारण यातायात सञ्चालनमा कठिनाइ भए पनि सरकारसँगको समन्वयमा सेवा निरन्तर सञ्चालन गर्ने महासंघले जनाएको छ ।

    यातायात क्षेत्रमा हुने विचौलियाको गतिविधि र जथाभावी टिकट काट्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्नेमा पनि महासंघले जोड दिएको छ ।

    अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढे पनि नागरिकको हितलाई ध्यानमा राखेर सरकारले मूल्य स्थिर राख्नुपर्ने अध्यक्ष सिटौलाको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images