images
images
  • त्रिभुवन विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

    काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ४२२ दशमलव ५ ग्राम सुनजस्तो देखिने पदार्थसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा भारतको दिल्लीका ४६ वर्षीय असलम शौकत रहेका छन् । विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार शौकत मुम्बईबाट इन्डिगो एयरको उडानमार्फत काठमाडौं आएका थिए ।

    प्रहरीका अनुसार गएराति विमानस्थलमा अस्वाभाविक रूपमा हिँडडुल गरिरहेको देखिएपछि शङ्का लागेर शौकतको जाँच गरिएको थियो ।

    जाँचका क्रममा उनको अन्डरवेयरभित्र प्लास्टिकले बेरेर लुकाइराखेको अवस्थामा ४२२ दशमलव ५ ग्राम सुनजस्तो देखिने पदार्थ फेला परेको हो ।

    पक्राउ परेका शौकतलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि प्रहरी वृत्त गौशाला पठाइएको प्रवक्ता सिलवालले जानकारी दिए । बरामद पदार्थ सुन नै हो वा होइन भन्नेबारे आवश्यक परीक्षण तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images