काठमाडौं – पछिल्लो चार दिनदेखि भइरहेको निरन्तर वर्षाका कारण पहिरो र रोशी नदीको कटानले ठाउँ–ठाउँमा अवरुद्ध बनेको बिपी राजमार्ग खुलाउन सडक कार्यालयको टोली सक्रिय भएको छ ।
राजमार्गको खुर्कोट–भकुण्डेबेँसी खण्डमा यातायात सञ्चालनका लागि अवरोध हटाउने काम भइरहेको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए।
डिभिजन सडक कार्यालय, भक्तपुरको टोली सोमबार बिहानैदेखि सडक सञ्चालनका लागि आवश्यक काममा खटिएको छ । मौसमले साथ दिएमा असोज १३ गते मंगलबार अपराह्नदेखि राजमार्ग सञ्चालनमा ल्याउन सकिने सम्भावना रहेको प्रमुख जिल्ला अधिकारी अधिकारीले बताए् ।
वर्षासँगै फेरि दोहोरियो बाढी र कटान
केही दिनदेखिको वर्षाले बिपी राजमार्गमा वर्षायाममा दोहोरिँदै आएको बाढी, पहिरो र नदी कटानको समस्या पुनः देखिएको हो ।
विसं २०८१ असोज दोस्रो सातामा आएको अविरल वर्षासँगै रोशी खोलामा आएको बाढी र पहिरोले काभ्रे खण्डमा राजमार्गको ठूलो भागमा क्षति पुर्याएको थियो । सडकको ठूलो हिस्सा बगेपछि तत्काल यातायात सञ्चालनका लागि विभिन्न स्थानमा अस्थायी डाइभर्सन निर्माण गरिएको थियो ।
हाल राजमार्ग स्थायी पुनर्निर्माणको चरणमा रहेकाले नयाँ बाढी तथा कटानका कारण अस्थायी संरचनामा समेत असर परेको छ ।
पूर्वी नेपाललाई राजधानीसँग जोड्ने मुख्य मार्ग
बिपी राजमार्गले पूर्वी तथा मध्य नेपाललाई सङ्घीय राजधानी काठमाडौंसँग जोड्दै आएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को प्राविधिक तथा आर्थिक सहयोगमा निर्माण भएको यो राजमार्ग राजधानीसँग तराई तथा पूर्वी जिल्लाको यातायात, व्यापार र दैनिक जनजीवन जोड्ने महत्वपूर्ण मार्गका रूपमा रहेको छ ।
राजमार्ग अवरुद्ध हुँदा यात्रु तथा चालकसँगै सडक आसपासका बस्ती र व्यापार–व्यवसायसमेत प्रत्यक्ष प्रभावित हुने गरेका छन् ।
सडक खुलाउन अवरोध हटाउने काम तीव्र पारिएको र मौसम अनुकूल रहेमा मंगलबार अपराह्नदेखि यातायात सञ्चालन गर्ने लक्ष्य राखिएको सडक कार्यालयले जनाएको छ ।


विश्व खबर 
















