images
images
  • बाढीले बगाएको गैँडा सुस्ता पुग्यो, उद्धारको तयारी

    काठमाडौं – चितवन राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रबाट नारायणी नदीमा बगेको एउटा गैँडा नवलपरासी (वर्दघाट–सुस्ता पश्चिम) को सुस्ता पुगेको छ ।

    अन्दाजी पाँच वर्षको उक्त गैँडा सुस्ता गाउँपालिका–४ मा सोमबार बिहान देखिएको हो । गैँडा सुस्ता पुगेको सूचना पाएलगत्तै निकुञ्जले निगरानी तथा उद्धारको तयारी थालेको जनाएको छ ।

    निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार गैँडाको निरन्तर रेकी भइरहेको छ । “गैँडाको रेकी भइरहेको छ । उद्धार गरेर हामी ल्याउने तयारीमा छौँ,” उनले भने ।

    डार्ट गरेर उद्धार गर्ने तयारी

    गैँडालाई डार्ट गरी बेहोस बनाएपछि डुङ्गाबाट वा भारतीय भूभाग हुँदै चितवन ल्याउनुपर्ने अवस्था रहेको निकुञ्जले जनाएको छ । सुस्ता पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने भएकाले उद्धारका लागि भारतीय पक्षसँग समेत समन्वय आवश्यक पर्नेछ ।

    गत शनिबार र आइतबार नारायणी नदीमा आएको ठूलो बाढीका कारण नदी तटीय क्षेत्रबाट गैँडा बगेको निकुञ्जको भनाइ छ । बाढीले अन्य गैँडा तथा वन्यजन्तुलाई समेत भारततर्फ पुर्‍याएको हुनसक्ने अनुमान गरिएको छ ।

    यसअघि पनि सुस्ता पुगेका थिए गैँडा

    यसअघि विसं २०७४ साउन २८ गते राप्ती र नारायणी नदीमा आएको बाढीका क्रममा पनि धेरै गैँडा बगेर सुस्ता हुँदै भारतीय भूमिमा पुगेका थिए ।

    तत्कालीन चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. रामचन्द्र कँडेलका अनुसार त्यसबेला भारतीय भूमिमा पुगेका १२ वटा गैँडालाई उद्धार गरी नेपाल ल्याइएको थियो ।

    उनका अनुसार भारतको वाल्मीकि बाघ संरक्षण आरक्षका अधिकारीहरूसँगको पुरानो समन्वयका कारण गैँडा उद्धार गरी नेपाल ल्याउन भारतीय पक्षबाट सहजीकरण भएको थियो ।

    यस वर्षको बाढीसमेत ठूलो रहेकाले थप गैँडा भारतीय भूभागसम्म पुगेको हुनसक्ने निकुञ्जले आकलन गरेको छ ।

    केही गैँडा आफैँ नदीबाट निस्किए

    यस वर्ष शनिबार र आइतबार आएको बाढीका क्रममा राप्ती नदीको मेघौली, खैरहनीलगायत क्षेत्रमा बगेका केही गैँडा भने आफैँ नदीबाट निस्किएको निकुञ्जले जनाएको छ । यसै क्रममा भरतपुर महानगरपालिका–१७, शिसुवारबाट एउटा मृगको समेत उद्धार गरिएको छ ।

    चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो गणनाअनुसार ६९४ वटा गैँडा रहेका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images