काठमाडौं – चार दिनदेखिको अविरल वर्षाका कारण आएको बाढीपहिरो तथा सडक भासिने घटनाले देशभरका प्रमुख राजमार्ग तथा सडकखण्डको यातायात प्रभावित भएको छ ।
विभिन्न जिल्लामा पहिरो र लेदो खसेपछि कतिपय सडक पूर्णरूपमा अवरुद्ध छन् भने केही सडकमा एकतर्फी तथा समय तोकेर यातायात सञ्चालन गरिएको छ ।
नेपाल प्रहरीका अनुसार रसुवा, नुवाकोट, धादिङ, काभ्रेपलाञ्चोक, चितवन, मनाङ, बागलुङ, रोल्पा, कालिकोट, गुल्मी, म्याग्दी, मुस्ताङ, हुम्ला, नवलपरासी पूर्व, पाल्पा, ललितपुर, लमजुङ, तनहुँ र पर्वतलगायत जिल्लाका सडक बाढीपहिरोबाट प्रभावित भएका छन् ।
पासाङ ल्हामु राजमार्ग पूर्ण अवरुद्ध
रसुवाको पासाङ ल्हामु राजमार्ग त्रिशूली नदीको बाढीले नदी किनारको अधिकांश सडक कटान गरेपछि पूर्णरूपमा अवरुद्ध भएको छ ।
काठमाडौंबाट रसुवा जाने यात्रुका लागि टोखा–छहरे–विदुर–नुवाकोट हुँदै धुञ्चे र स्याफ्रुबेँसी पुग्ने एक लेनको कच्ची वैकल्पिक सडक प्रयोग गर्न सकिने प्रहरीले जनाएको छ ।
नुवाकोटको टोखा–छहरे सडकखण्डमा राति १० बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक सेवाबाहेक सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । यो व्यवस्था अर्को सूचना जारी नभएसम्म लागू रहनेछ ।
पृथ्वीराजमार्ग र नारायणगढ–मुग्लिन प्रभावित
पृथ्वीराजमार्गका विभिन्न स्थानमा पहिरो खसेपछि यातायात प्रभावित भएको छ । धादिङको कृष्णभीर क्षेत्रमा ठूलो ढुङ्गासहित पहिरो खसेपछि सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ ।
बेनिघाट रोराङ–१० स्थित पानीधारामा पहिरोका कारण सडक पूर्णरूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।
चितवनको नारायणगढ–मुग्लिन सडकखण्डका विभिन्न स्थानमा पहिरो खसेपछि अर्को सूचना नभएसम्म सबै सवारीसाधनको आवागमन बन्द गरिएको छ ।
काभ्रेपलाञ्चोकको बीपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका–७ चारसयबेँसी र रोशी–८ गिम्दीबेँसीमा पहिरो गएपछि सडक अवरुद्ध छ । धुलिखेल नगरपालिका–८ पकुचामा पहिरो खसेपछि अरनिको राजमार्गसमेत अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
मध्यपहाडी लोकमार्गदेखि कर्णाली करिडोरसम्म अवरोध
गण्डकी प्रदेशमा मनाङको बेँसीसहर–खाङसार सडकखण्डमा साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । मनाङकै चामे–बेँसीसहर सडकखण्ड पहिरोका कारण पूर्णरूपमा अवरुद्ध छ ।
बागलुङको मध्यपहाडी लोकमार्ग तथा कालीगण्डकी करिडोर, रोल्पाको घोराही–थवाङ–रुकुम सहिदमार्ग र कालिकोटको कर्णाली राजमार्ग पहिरो तथा लेदोका कारण प्रभावित भएका छन् ।
गुल्मीका रिडी–तम्घास मदनभण्डारी राजमार्ग, रुद्रबेणी–वामीटक्सार सडक तथा कालीगण्डकी करिडोरका विभिन्न स्थानमा पहिरो र खोलाको बहाव बढेपछि यातायात अवरुद्ध भएको छ ।
हिमाली तथा पहाडी जिल्लाका सडक पनि बन्द
म्याग्दीको बेनी–जोमसोम, मुस्ताङको जोमसोम–कोरला, हुम्लाको कर्णाली करिडोर, नवलपरासी पूर्वको कालीगण्डकी करिडोर, पाल्पाको सिद्धार्थ राजमार्ग र ललितपुरको कान्तिलोकपथमा पहिरो तथा लेदोका कारण यातायात सञ्चालन हुन सकेको छैन ।
त्यस्तै, लमजुङको बेँसीसहर–मनाङ सडक तथा मध्यपहाडी लोकमार्ग, तनहुँको पृथ्वीराजमार्ग र पर्वतको मालढुङ्गा–बेनी सडकखण्ड पनि पहिरोका कारण अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।


विश्व खबर 

















