काठमाडौं – जिल्लाको पौवादुङ गाउँपालिकामा रहेको ऐतिहासिक तथा सांस्कृतिक महत्वको कोटगढी संरक्षणसँगै पर्यटकीय गन्तव्यका रूपमा विकास हुन थालेको छ । आन्तरिक पर्यटनको सम्भावनालाई उपयोग गर्दै स्थानीय अर्थतन्त्र चलायमान बनाउने उद्देश्यले गाउँपालिकाले कोटगढी क्षेत्रको पूर्वाधार विकासमा जोड दिएको हो ।
कोटगढीको धार्मिक तथा सांस्कृतिक महत्वलाई थप उजागर गर्ने उद्देश्यले परिसरमा पदमार्गसँगै मन्दिर निर्माण गरिएको छ । पदमार्ग र मन्दिर निर्माण भएपछि आन्तरिक पर्यटक, धार्मिक श्रद्धालु तथा इतिहास र संस्कृतिमा रुचि राख्नेहरूको आवागमन बढ्न थालेको स्थानीयवासीले बताएका छन् ।
स्थानीयवासी सन्तोष कोइरालाले संरक्षण र पूर्वाधार विकाससँगै कोटगढीको पहिचान थप उजागर हुन थालेको बताउनुभयो । उहाँका अनुसार कोटगढीको विकासले नयाँ पुस्तालाई स्थानीय इतिहास, संस्कृति र पहिचानबारे जानकारी लिनसमेत अवसर दिएको छ ।
“आगामी दिनमा थप पूर्वाधार, विश्रामस्थल र प्रचारप्रसारका कार्यक्रम सञ्चालन गर्न सके कोटगढी भोजपुरकै महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्न सक्छ,” कोइरालाले भन्नुभयो ।
गाउँपालिका केन्द्र नजिकै रहेको कोटगढीमा सहज पहुँचका लागि गाउँपालिकाले ३५ लाख रुपैयाँ बजेट र २० प्रतिशत स्थानीय श्रमदानको सहभागितामा सिँढीसहितको पदमार्ग निर्माण गरेको छ। स्थानीय बासिन्दा तथा आगन्तुकलाई सुरक्षित र सहज आवागमनको व्यवस्था गर्न कोटगढी पुग्ने दुईतर्फी पदमार्गमा सिँढी निर्माण गरिएको हो ।
गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले कोटगढी ऐतिहासिक दृष्टिले महत्वपूर्ण क्षेत्र भएकाले यसको संरक्षणसँगै पर्यटनसँग जोडेर विकास गर्न गाउँपालिकाले प्राथमिकता दिएको बताउनुभयो ।
“कोटगढी आफैँमा ऐतिहासिक क्षेत्र हो। हामीले यसको विकासमा जोड दिएका छौँ,” उहाँले भन्नुभयो ।
गाउँपालिका अध्यक्ष किरण राईले गाउँपालिकाभित्र रहेका धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलको एकीकृत विकासमा जोड दिइएको बताउनुभयो । सम्भावनायुक्त क्षेत्रको पहिचान गरी योजनाबद्ध रूपमा पूर्वाधार निर्माण र प्रवद्र्धनका कार्यक्रम अघि बढाइएको उहाँको भनाइ छ ।
“गाउँपालिकाभित्र रहेका सम्भावनायुक्त क्षेत्रको पहिचान गरी योजनाबद्ध रूपमा विकास गर्ने नीति लिइएको छ,” अध्यक्ष राईले भन्नुभयो, “कोटगढी जस्ता ऐतिहासिक स्थलको संरक्षणले पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा लिएका छौँ ।”
स्थानीय तहले कोटगढीसहित धार्मिक, ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको संरक्षण र पूर्वाधार विकासलाई स्थानीय पर्यटन प्रवद्र्धनसँग जोडेर अघि बढाउने जनाएको छ।


विश्व खबर 

















