images
images
  • मौसम सुधारसँगै बाजुराको जनजीवन सामान्य बन्दै

    काठमाडौं– केही दिनदेखि लगातार परेको वर्षापछि मौसममा सुधार आएसँगै बाजुराको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ । आइतबारदेखि मौसममा आंशिक सुधार देखिए पनि सोमबार बिहानदेखि आकाश खुल्दै घाम लागेपछि जिल्लाका बजार, विद्यालय, सरकारी कार्यालय तथा यातायात सेवा नियमित हुन थालेका छन् ।

    लगातारको वर्षाका कारण प्रभावित बनेको जिल्लाको यातायात सेवा पनि पुनः सञ्चालनमा आएको छ । लामो तथा छोटो दूरीका सवारीसाधन सञ्चालन हुन थालेका छन् भने वर्षाका कारण अवरुद्ध भएका केही ग्रामीण सडकमा समेत यातायात सेवा सुरु भएको छ ।

    वर्षाका कारण अवरुद्ध भएको साँफे–मार्तडी सडकखण्ड आइतबार पहिरो पन्छाएपछि यातायात सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सडक खुलेसँगै जिल्लाबाट बाहिरिने तथा जिल्ला भित्रिने सवारीसाधन नियमित हुन थालेका छन् ।

    मौसममा सुधार आएपछि जिल्लाका शैक्षिक संस्थासमेत सोमबारदेखि सञ्चालनमा आएका छन्। लगातारको वर्षाका कारण प्रभावित भएको पठनपाठन पुनः नियमित हुन थालेको हो। बजार तथा सरकारी कार्यालयमा पनि चहलपहल बढेको छ ।

    यता, मौसम खुलेपछि किसानहरू खेतबारीको काममा फर्किएका छन्। वर्षाका कारण ग्रामीण क्षेत्रमा रोकिएको धान काट्ने लगायतका कृषि कार्य पुनः सुरु भएको स्थानीय वीरबहादुर बुढाले बताउनुभयो ।

    प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार मौसममा बिस्तारै सुधार आउन थालेसँगै जिल्लाको जनजीवन पनि सामान्य बन्दै गएको छ । उहाँका अनुसार जिल्लाबाट सञ्चालन हुने लामो तथा छोटो दूरीका यातायात सेवा आइतबारदेखि नै सञ्चालनमा ल्याइएको थियो ।

    लगातारको वर्षाका कारण जिल्लाका विभिन्न क्षेत्रमा सडक तथा दैनिक जनजीवन प्रभावित भए पनि मौसम सुधारसँगै सेवा तथा गतिविधिहरू क्रमशः पूर्ववत् अवस्थामा फर्किन थालेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images