images
images
  • भोटेकोशी बाढीको वैज्ञानिक अध्ययनमा एडिबीले सघाउने

    काठमाडौं– एसियाली विकास बैङ्क (एडिबी) ले भोटेकोशी बाढीबाट भएको क्षतिको वैज्ञानिक मूल्याङ्कन तथा आगामी ऊर्जा पूर्वाधार निर्माणका लागि नेपाललाई प्राविधिक सहयोग गर्ने भएको छ ।

    एडिबीका नेपाल राष्ट्रिय निर्देशक आर्नो कोशवालले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँग भेटवार्ता गर्दै बाढीको क्षति मूल्याङ्कन, वैज्ञानिक अध्ययन र जलवायुमैत्री विद्युत् पूर्वाधार निर्माणमा सहकार्य गर्ने प्रतिबद्धता जनाएका हुन् ।

    भेटमा मन्त्री श्रेष्ठले भोटेकोशी बाढीको वैज्ञानिक आधार पहिचान गर्न मन्त्रालयले विज्ञ समिति गठन गरी अध्ययन अघि बढाएको जानकारी गराए। आगामी दिनमा बाढी तथा विपद् जोखिमलाई ध्यानमा राखेर ऊर्जा करिडोरको स्वरूप कस्तो हुनुपर्ने भन्ने विषयमा पनि मन्त्रालयले प्राविधिक टोलीमार्फत अध्ययन गरिरहेको उनले बताए ।

    क्षतिपछि नयाँ ऊर्जा करिडोरको अवधारणा

    मन्त्री श्रेष्ठका अनुसार प्राविधिक अध्ययनपछि मन्त्रालयले आगामी ऊर्जा करिडोरको विकाससम्बन्धी एकीकृत अवधारणापत्र तयार गर्ने तयारी गरेको छ ।

    एडिबीका राष्ट्रिय निर्देशक कोशवालले मन्त्रालयको विज्ञ तथा प्राविधिक टोलीसँग सहकार्य गर्न एडिबी तयार रहेको बताए ।

    ऊर्जा क्षेत्रको दीर्घकालीन विकासका लागि वैज्ञानिक तथा प्राविधिक सहयोग उपलब्ध गराउने इच्छा व्यक्त गर्दै उनले क्षति मूल्याङ्कनदेखि आगामी रणनीति निर्माणसम्म सघन रूपमा काम गर्ने प्रतिबद्धता जनाए ।

    जलवायु परिवर्तनको जोखिम अध्ययन

    भेटमा दूधकोशी जलविद्युत् आयोजनाको शिर क्षेत्रमा रहेका हिमताल तथा जलवायु परिवर्तनका कारण उत्पन्न हुन सक्ने जोखिमबारे पनि छलफल भएको थियो ।

    कोशवालले दूधकोशी क्षेत्रमा हिमताल तथा जलवायु परिवर्तनको प्रभावबाट उत्पन्न हुन सक्ने जोखिमबारे एडिबीले अध्ययन गरिरहेको जानकारी दिए ।

    मन्त्री श्रेष्ठले यस्ता अध्ययन दूधकोशीमा मात्र सीमित नराखी अन्य नदी बेसिनमा समेत विस्तार गर्नुपर्नेमा जोड दिए ।

    जलवायु परिवर्तनका कारण जलविद्युत् तथा ऊर्जा पूर्वाधारमा बढ्दै गएको जोखिम पहिचान र न्यूनीकरणका लागि एडिबीको प्राविधिक सहयोग महत्वपूर्ण हुने उनले बताए ।

    भेटवार्तामा बाढीबाट भएको क्षतिको वैज्ञानिक मूल्याङ्कन, भविष्यका ऊर्जा पूर्वाधारलाई जलवायु जोखिमअनुकूल बनाउने रणनीति र नदी बेसिनको जोखिम अध्ययनलाई प्राथमिकताका साथ अघि बढाउने विषयमा छलफल भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images