तेहरान– इरानका एक उच्च सुरक्षा अधिकारीले अमेरिकाप्रति तेहरानको गहिरो अविश्वास रहेको दोहोर्याउँदै वासिङ्टनले व्यावहारिक कदम चालेर विश्वासको वातावरण बनाउनुपर्ने बताएका छन् ।
अर्धसरकारी समाचार संस्था तस्निमका अनुसार इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसेन रेजाईले इराकको अर्धस्वायत्त कुर्दिस्तान क्षेत्रका प्याट्रियोटिक युनियन अफ कुर्दिस्तानका नेता बाफेल जलाल तालाबानीसँगको भेटमा बुधबार यस्तो बताएका हुन् ।
‘हामी कुनै पनि हालतमा अमेरिकालाई विश्वास गर्दैनौँ । उनीहरूले व्यावहारिक कदम चाल्नुपर्छ र हाम्रो विश्वास जित्नुपर्छ,’ रेजाईले भने ।
उनले इरान र इराकी कुर्दिस्तान क्षेत्रबीचको सीमामा सुरक्षा सुनिश्चित गर्न तथा कुर्दिस्तान क्षेत्रमा सक्रिय इरानविरोधी समूहको सामना गर्नुपर्नेमा जोड दिए ।
साथै, उनले उक्त क्षेत्रमा इजरायलको गतिविधिप्रति पनि चेतावनी दिए ।
यसअघि बुधबार नै इरानका राष्ट्रपति मसुद पेजेस्कियानले तालाबानीसँगको भेटमा पश्चिम एसियामा कलह र द्वन्द्व निम्त्याउने विदेशी प्रयासप्रति सचेत रहनुपर्ने बताए ।
राष्ट्रपतिको कार्यालयको ‘वेबसाइट’मा प्रकाशित विज्ञप्तिअनुसार उनले क्षेत्रीय सहयोग र संवादमार्फत अस्थिरता तथा मतभेदका कारण हटाउनुपर्नेमा जोड दिए ।
पेजेस्कियानले छिमेकी मुलुकसँगका विद्यमान समस्या संवाद र सहकार्यबाट समाधान गर्न इरान तयार रहेको बताए ।
साथै, सबै पक्षले असल छिमेकीपनको सिद्धान्त पालना गर्दै अत्यधिक माग र अनुपयुक्त व्यवहारबाट टाढा रहनुपर्नेमा जोड दिए ।
तस्निमका अनुसार रेजाईसँगको भेटमा तालाबानीले इरान–इराकी कुर्दिस्तान सीमामा सुरक्षा सुनिश्चित गर्न तथा सीमावर्ती क्षेत्रमा रहेका इरानविरोधी समूहसँग सम्बन्धित समस्या समाधान गर्नुपर्ने बताए ।
इरानी राष्ट्रपतिको कार्यालयका अनुसार तालाबानीले सीमावर्ती क्षेत्रमा सक्रिय क्रान्तिविरोधी समूहलाई उक्त क्षेत्रबाट हटाउन तथा इरानसँगको साझा सीमाको सुरक्षा सुनिश्चित गर्न इराकी कुर्दिस्तान क्षेत्र प्रतिबद्ध रहेको बताएका थिए । –सिन्ह्वा


विश्व खबर 



















