काठमाडौं– गत भदौमा भारतबाट ६० हजार टन ग्यास आयात भएको छ ।
आयल निगमका सहप्रवक्ता शिशिर सुवेदीका अनुसार भदौमा ५९ हजार ८३३।९८ टन ग्यास आयात भएको हो ।
सरकारले भारतलाई भदौ, असोज र कात्तिकका लागि मासिक ६० हजार टन ग्यास दिन आग्रह गरेको थियो ।
आइओसीका मथुरा, हल्दिया, दुर्गापुर, पाराद्विप, बन्थरा र बरौनी रिफाइनरीबाट मागअनुसार ग्यास आएको छ ।
साउनमा ५७ हजार ३१६ टन ग्यास आयात भएको थियो ।
मासिक कोटा ४९ हजार ५०० टन भए पनि असहजता बढेपछि आइओसीले परिमाण बढाएको छ ।
३१ असारमा पूर्ण तौलको सिलिन्डर प्रयोगमा ल्याएयता ग्यास आपूर्ति असहज भएको छ ।
यसअघि आधा तौल (७.१ किलो)को सिलिन्डर मात्रै प्रयोगमा थियो ।
पूर्ण तौलको सिलिन्डर आएपछि उपभोक्ताले खाली सिलिन्डर सटही गर्दा आपूर्ति असहज भएको हो ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दीपक साहले भारतबाट दैनिक १६० बुलेट ग्यास आपूर्ति सुनिश्चित गरेर चाँडै सहज बनाउने दाबी गरेका छन् ।
पुस अन्तिमदेखि उपत्यकामा ग्यास असहज भएको थियो ।
बरौनी रिफाइनरी मर्मतका लागि बन्द हुँदा आपूर्ति प्रभावित भएको थियो ।
२९ फागुनदेखि आधा तौलको सिलिन्डर ल्याइएपछि लाइन अन्त्य भए पनि उपभोक्ताले सिलिन्डर थन्क्याउँदा खपत घटेको थियो ।
चैतमा ३८ हजार ७९९, वैशाखमा ३२ हजार ५६, जेठमा ३२ हजार ८४२ र असारमा ४४ हजार ५४४ टन ग्यास आयात भएको थियो ।
कृष्णभिरको पहिरो पन्छाएर नयाँ ट्रयाक खोलिएपछि धादिङ, काठमाडौं, ललितपुर र काभ्रेका उद्योगमा बुलेट आउन थालेका छन् ।
ग्यास उद्योग संघका निवर्तमान अध्यक्ष शिवप्रसाद घिमिरेका अनुसार बिहीबार साँझ ५ बजेसम्म करिब ४० बुलेट काठमाडौं आएका छन् ।
भारतबाट पनि बुलेट लोडिङ बढेको छ ।
बिहीबार १६० बुलेट लोडिङ हुने अवस्था रहेको र बरौनीबाट ३५ बुलेट लोड भएको उनले बताए ।
‘भारतबाट आयात बढाउने र पहिरो पन्छाएर बुलेट आउने स्थिति बनेकाले उपत्यकामा तीन दिनभित्र ग्यास आपूर्ति सहज हुनेछ,’ उनले भने ।
१३ भदौमा पहिरो गएपछि काठमाडौंमा बुलेट आउन सकेका थिएनन् ?
तराईका उद्योगमा रिफिलिङ गरी ट्रकमा ग्यास ल्याइएको थियो ।
बुलेट आउन थालेपछि प्रतिसिलिन्डर मूल्य २,०६० रुपैयाँ लिन ग्यास उद्योग संघले डिलरलाई परिपत्र गरेको छ ।
यसअघि तराईबाट ट्रकमा ल्याउँदा २,१६५.३८ रुपैयाँ निर्धारण गरिएको थियो ।


विश्व खबर 




















