images
images
  • भोटेकोसी बाढीमा ६७७ मजदुर सम्पर्कविहीन, ५१५ ट्रक तथा कन्टेनर बेपत्ता

    काठमाडौं – भोटेकोसीमा आएको बाढीबाट ६७७ जना यातायात मजदुर सम्पर्कविहीन भएको नेपाल ट्रक यातायात व्यवसायी महासंघले जनाएको छ ।

    बाढीका कारण ५१५ वटा ट्रक तथा कन्टेनर हराएको महासंघले जानकारी दिएको छ ।

    बिहीबार यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा बसेको बैठकमा महासंघले बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको प्रारम्भिक विवरण प्रस्तुत गरेको हो ।

    महासंघका अनुसार सम्पर्कविहीन मजदुर तथा हराएका ट्रक र कन्टेनरको संख्या अझै बढ्न सक्ने अवस्था छ । बाढीबाट भएको क्षतिको यकिन विवरण संकलन गर्ने कार्य जारी रहेको जनाइएको छ ।

    यसैबीच, भौतिक पूर्वाधार विकास मन्त्रालयले बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको मूल्यांकन गरी क्षतिपूर्तिको आधारबारे रायसहितको प्रतिवेदन तयार गर्न समिति गठन गरेको छ ।

    यातायात व्यवस्था विभागका महानिर्देशक पोखरेलको संयोजकत्वमा गठित समितिलाई १५ दिनभित्र रायसुझावसहित प्रतिवेदन पेस गर्न जिम्मेवारी दिइएको छ ।

    समितिमा भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रतिनिधि, भौतिक पूर्वाधार विकासमन्त्रीको सचिवालयका प्रतिनिधि, यातायात व्यवसायी तथा यातायात मजदुर संघ–संगठनका प्रतिनिधि रहेका छन्।

    समितिमा नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्रविक्रम बानियाँ र महासचिव बद्रीप्रसाद चौलागाईंलगायत सदस्य रहेका छन्।

    समितिले बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको विवरण संकलन, मूल्यांकन तथा क्षतिपूर्तिका लागि आवश्यक आधारबारे अध्ययन गरी सरकारलाई प्रतिवेदन बुझाउनेछ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images