images
images
  • नयाँ विशेषतासहित ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा

    काठमाडौं – नेपाल राष्ट्र बैंकले नयाँ विशेषता समेटिएको ५० रुपैयाँ दरको बैंकनोट आजदेखि चलनचल्तीमा ल्याउने भएको छ । साविककै आकार र रङमा नयाँ नोट चलनचल्तीमा ल्याउन लागिएको राष्ट्र बैंकले जनाएको छ ।

    राष्ट्र बैंकका अनुसार नयाँ ५० रुपैयाँ दरको नोटमा संकेत नं. ट २४, ०००००१ देखि ण ७०, ९९९९९९ सम्मका नोट जारी गरिनेछन् । नोटमा २०८३ साल असोज २ गतेदेखि चलनचल्तीमा ल्याइएको उल्लेख हुनेछ ।

    नयाँ नोटको अगाडिको भागको मध्य खण्डमा ‘श्री नेपाल राष्ट्र बैंक, नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग भएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५० रुपैयाँ पचास तुरुन्त पाइने छ’ भन्ने प्रतिज्ञामूलक वाक्यांश राखिएको छ ।

    नोटको बायाँतर्फ सगरमाथा हिमालको चित्र तथा दायाँतर्फ लालीगुराँसको पानी छाप राखिएको छ । पानी छापको मुनि ‘५०’ अंकित पानी छापसमेत रहेको राष्ट्र बैंकले जनाएको छ।

    नयाँ नोटमा राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको दस्तखत रहेको छ ।

    नोटमा १.२ मिलिमिटर चौडा कागजमा बुनिएको सुरक्षा धागोसमेत राखिएको छ । उक्त धागोलाई प्रकाशतर्फ पारेर हेर्दा पूर्ण रूपमा देखिने तथा धागोमा ‘एनआरबी’ लेखिएको राष्ट्र बैंकले जनाएको छ ।

    नोटको पछाडिको भागमा हिउँ चितुवाको चित्र राखिएको छ । चित्रको माथिल्लो भागमा ‘नेपाल राष्ट्र बैंक’ तथा तल्लो भागमा ‘रुपिज फिफ्टी’ र सिरिज नम्बर ‘२०२५ एडी’ उल्लेख गरिएको छ ।

    यसअघि नेपाल राष्ट्र बैंकले २०७७ साल असार २२ गतेदेखि ५० रुपैयाँ दरको २०१९ सिरिजको बैंकनोट चलनचल्तीमा ल्याउने सूचना प्रकाशित गरेको थियो ।

    त्यस समयमा तोकिएका संकेत नम्बरमध्ये ज ८९, ०००००१ देखि ट २३, ९००००० सम्मका नोट मात्र चलनचल्तीमा ल्याइएको राष्ट्र बैंकले स्पष्ट पारेको छ ।

    नयाँ नोट चलनचल्तीमा आएपछि यसअघि प्रचलनमा रहेका ५० रुपैयाँ दरका नोटको प्रयोग भने यथावत् रहनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images