काठमाडौं – आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत भदौ महिनाका ३३ जना विजेताको नाम सार्वजनिक गरेको छ ।
विजेतामध्ये प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु। १ हजार सहयोग गर्ने एक जना पनि रु। १ लाखको उपहार विजेता बनेका छन् ।
विभागले भदौ महिनाका लागि हरेक दिन एक जनाका दरले ३१ जना र दुई जना बम्पर विजेता गरी कुल ३३ जना छनोट गरेको हो ।
विभागका अनुसार भदौ महिनाका ३१ जना विजेताले जनही रु। १ लाख नगद उपहार प्राप्त गर्नेछन् । त्यस्तै, दुई जना बम्पर विजेताले जनही रु। १० लाख नगद उपहार पाउनेछन् ।
भोटेकोशीमा आएको बाढीका कारण भदौ १६ गतेका लागि निर्धारित उपहार घोषणा कार्यक्रम स्थगित गरिएको थियो । त्यसपछि विभागले भदौ महिनाका बाँकी विजेतासहित उपहार विजेताको नाम सार्वजनिक गरेको हो ।
सरकारले कर प्रणालीमा उपभोक्ताको सहभागिता बढाउने तथा वस्तु तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा बिल लिने प्रवृत्तिलाई प्रोत्साहन गर्ने उद्देश्यले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
यस कार्यक्रममार्फत उपभोक्तालाई खरिद गर्दा बिल लिन प्रोत्साहित गर्नुका साथै कर प्रणालीमा पारदर्शिता र सहभागिता बढाउने सरकारको लक्ष्य रहेको छ ।


विश्व खबर 



















