images
images
  • उत्तर कोरियाले आणविक हतियार नत्याग्ने

    काठमाडौं– उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले आफ्नो देशको आणविक हतियार सम्पन्न राष्ट्रको हैसियत स्थायी र अपरिवर्तनीय रहेको बताएकी छन् ।

    उनले उत्तर कोरियाले आणविक हतियार त्याग्ने आशा राख्नु ‘मूर्खतापूर्ण सोच’ भएको टिप्पणी गरेकी हुन् ।

    आधिकारिक कोरियन सेन्ट्रल न्युज एजेन्सीमार्फत जारी वक्तव्यमा उनले बाह्य शक्तिहरूले उत्तर कोरियाको आणविक हैसियत अस्वीकार गरे पनि त्यसमा कुनै परिवर्तन नआउने बताइन् ।

    उनका अनुसार प्योङयाङको आणविक शस्त्रागारले बाह्य दबाब रोक्न महत्त्वपूर्ण भूमिका खेलिरहेको छ ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँग ५७ वटा शक्तिशाली आणविक हतियार रहेको बताउनुभएको छ भने दक्षिण कोरियाले यो सङ्ख्या ८० देखि १२० सम्म रहेको अनुमान गरेको छ ।

    भियनामा अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीको महासम्मेलन चलिरहेका बेला किम यो जोङको यस्तो प्रतिक्रिया आएको हो ।

    सन् २०१९ मा किम जोङ उन र तत्कालीन अमेरिकी राष्ट्रपति ट्रम्पबीच आणविक निशस्त्रीकरणको बदलामा प्योङयाङले पाउने सुविधाबारे भएको दोस्रो शिखर वार्ता असफल भएपछि उत्तर कोरियाले आफ्नो आणविक शस्त्रागार विस्तार गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images