images
images
  • १८ दिनपछि खुल्यो कृष्णभीर, पृथ्वी राजमार्गमा सहज भयो यातायात

    काठमाडौं – पहिरोका कारण १८ दिनदेखि अवरुद्ध पृथ्वी राजमार्गको कृष्णभीर सडकखण्ड पुनः सञ्चालनमा आएपछि राजधानी भित्रिने र बाहिरिने यातायात सहज भएको छ ।

    सडक अवरुद्ध हुँदा ठूला मालवाहक सवारीसाधन बाटोमै रोकिएका थिए भने साना सवारीसाधन तथा यात्रुबाहक बसले वैकल्पिक मार्ग प्रयोग गर्दै आएका थिए ।
    लामो र कठिन वैकल्पिक मार्गका कारण यात्रु तथा यातायात व्यवसायीले ठूलो सास्ती बेहोर्नुपरेको थियो ।

    कृष्णभीरको सडक खुलेसँगै मालवाहक ट्रक, यात्रुबाहक बस तथा अन्य सवारीसाधन नियमित रूपमा सञ्चालन हुन थालेका छन् ।

    सडक खुलेपछि यातायात व्यवसायी र चालकले राहत महसुस गरेका छन् ।

    माइक्रोबस चालक राजु थापाले सडक बन्द हुँदा दुईवटा माइक्रोबस प्रयोग गरेर यात्रुलाई कृष्णभीर पार गराउँदै सेवा दिनुपरेको बताए । सडक दुईतर्फी खुलेपछि सेवा सञ्चालन गर्न सहज भएको उनको भनाइ छ ।

    ट्रक चालक शिवकुमार थारुले हेटौँडा हुँदै यात्रा गर्दा साँघुरो र बिग्रिएको सडकका कारण निकै कठिनाइ भएको बताउनुभयो । उनले पृथ्वी राजमार्ग नै आफूहरूका लागि सहज रहेको उल्लेख गरेका छन् ।

    यसैगरी, बस चालक आशिष क्षेत्रीले वैकल्पिक मार्ग प्रयोग गर्दा जाम र लामो दूरीका कारण काठमाडौँ पुग्न दुई दिनसम्म लागेको बताए ।

    ठोरी–काठमाडौँ बस सञ्चालन गर्दै आएको चालक रुपेश परियारले पनि वैकल्पिक मार्गको खर्च धान्न नसकेर बस चलाउनै रोक्नुपरेको बताए ।

    कृष्णभीरमा सडक खुलेपछि बुधबार साँझदेखि रोकिएका सवारीसाधनलाई आवतजावत गराइएको थियो ।

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार चितवनतर्फ मात्रै रोकिएका करिब १ हजार ९ सय सवारीसाधन काठमाडौँतर्फ पठाइएको थियो ।

    बिहीबार बिहानदेखि कृष्णभीर हुँदै यातायात नियमित रूपमा सञ्चालन भइरहेको उनले जानकारी दिए ।

    त्रिशूली नदीको कटानका कारण कृष्णभीरको सडकखण्ड पूर्ण रूपमा भासिएपछि करिब एक सय मिटर सडक क्षतिग्रस्त भएको थियो । त्यसपछि नजिकैको भित्तो काटेर वैकल्पिक सडक निर्माण गरिएको हो ।

    नियमित र तीव्र गतिमा काम अघि बढाइएपछि १८औँ दिनमा कृष्णभीरको सडक पुनः सञ्चालनमा आएको हो ।

    सडक खुलेसँगै लामो समयदेखि रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् भने वैकल्पिक मार्ग प्रयोग गर्दै आएका चालक र यात्रुले पनि राहत महसुस गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images