काठमाडौं – यातायात व्यवस्था विभागले सार्वजनिक यात्रीवाहक सवारीसाधनको दर्ता खुलाउने निर्णय गरेको छ । विभागले सवारीसाधनको संख्या र मार्ग व्यवस्थापनलाई व्यवस्थित गर्ने उद्देश्यले निश्चित सीमाभित्र रहेर दर्ता खुलाउने भएको हो ।
विभागले भदौ ३० गते सातवटै प्रदेशका पूर्वाधारसम्बन्धी मन्त्रालयलाई पत्र पठाउँदै काठमाडौं उपत्यकाभित्र मार्ग तथा सवारीसाधन व्यवस्थापनका लागि असोज १ गतेदेखि सार्वजनिक यात्रीवाहक सवारीसाधनको दर्ता खोल्ने जानकारी गराएको हो ।
विभागका अनुसार काठमाडौं उपत्यकाबाहेकका क्षेत्रमा भने सार्वजनिक यात्रीवाहक सवारीसाधनको दर्ता खुला रहनेछ । दर्ता गर्दा विद्युतीय सार्वजनिक यात्रीवाहक सवारीसाधनलाई प्राथमिकता दिइनेछ ।
यातायात व्यवस्था विभागका निर्देशक मणिराम भुसालका अनुसार काठमाडौं उपत्यकाको हकमा भने विद्यालय बस र सट्टाभर्नाका लागि मात्र सार्वजनिक सवारीसाधनको दर्ता खोलिएको हो ।
उनका अनुसार उपत्यकामा सार्वजनिक यात्री सवारीसाधनको संख्या र मार्ग व्यवस्थापनलाई ध्यानमा राखेर अन्य सवारीसाधनको दर्तामा सीमा कायम गरिएको छ ।
यसअघि विभागले नेपालमा आयात हुने सार्वजनिक सवारीसाधनको दर्ता अर्को सूचना जारी नभएसम्मका लागि रोक्ने निर्णय गरेको थियो । त्यसपछि गत साउन १८ गते सूचना जारी गर्दै विभागले मालवाहक सवारीसाधनको दर्ता भने खुला गरेको थियो ।
अब असोज १ गतेदेखि सार्वजनिक यात्रीवाहक सवारीसाधनको दर्ता निश्चित व्यवस्थासहित खुला गरिने भएको हो । विभागले विशेषगरी विद्युतीय सार्वजनिक सवारीसाधनलाई प्राथमिकता दिने व्यवस्था गरेको जनाएको छ ।


विश्व खबर 




















