images
images
  • ई–जीपी प्रणाली स्थगित, हुलाक र कुरियरमार्फत बोलपत्र बुझाउन सकिने

    काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विद्युतीय खरिद प्रणाली (ई–जीपी) अस्थायी रूपमा बन्द भएपछि सार्वजनिक निकायलाई बोलपत्र कागजात हार्डकपीमार्फत बुझाउने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

    कार्यालयले बुधबार सूचना जारी गर्दै ई–जीपी प्रणालीमा उच्च सुरक्षा जोखिम देखिएपछि तत्कालका लागि प्रणाली स्थगन गरिएको जनाएको हो ।

    प्रणालीमा देखिएको समस्या समाधान गर्न मर्मत तथा सुधारको काम भइरहेको र यथाशीघ्र पुनः सञ्चालनमा ल्याउने तयारी भइरहेको कार्यालयले जनाएको छ ।

    ई–जीपी प्रणाली पुनः सञ्चालनमा नआएसम्म सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ४८ को उपनियम – २० बमोजिम बोलपत्र कागजात प्राप्त गर्ने व्यवस्था मिलाउन कार्यालयले सार्वजनिक निकायलाई निर्देशन दिएको छ ।

    यसअनुसार बोलपत्रदाताले बोलपत्र कागजात हुलाकमार्फत, स्वयं उपस्थित भएर वा कुरियरमार्फत सम्बन्धित कार्यालयमा बुझाउन सक्नेछन् ।

    कार्यालयले बोलपत्र आह्वानसम्बन्धी कागजातमा पनि सोहीअनुसार आवश्यक व्यवस्था मिलाउन सार्वजनिक निकायलाई आग्रह गरेको छ ।

    हुलाकमार्फत प्राप्त हुने बोलपत्र कागजातसमेत कानुनबमोजिम तोकिएको समयसीमाभित्र सम्बन्धित कार्यालयमा दाखिला हुने व्यवस्था मिलाउनुपर्ने कार्यालयले जनाएको छ ।

    ई–जीपी प्रणालीमा देखिएको समस्या समाधान भई प्रणाली पुनः सञ्चालनमा नआएसम्मका लागि यो वैकल्पिक व्यवस्था लागू हुने सार्वजनिक खरिद अनुगमन कार्यालयले स्पष्ट पारेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images