images
images
  • इन्धनको स्वचालित मूल्य प्रणालीमा ‘ब्रेक’ ! भारतबाट पटक–पटक बढेर आए पनि नेपालमा मूल्य स्थिर

    काठमाडौं– नेपाल आयल निगम लिमिटेडले इन्धनको स्वचालित मूल्य प्रणालीमा ‘ब्रेक’ लगाएको छ ।

    इन्धनको स्रोत मुलुक भारतबाट मूल्य घटबढ भएर आउँदा सोही अनुसार मूल्य समायोजन गर्नुपर्ने भए पनि निगमले लामो समयदेखि नेपाली बजारमा मूल्य यथावत राख्दै आएको छ ।

    पछिल्लो पटक भारतबाट हिजो मंगलबार (भदौ ३० गते) पेट्रोलको मूल्य प्रतिलिटर १२ रुपैयाँ ४० पैसा र डिजेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ ६८ पैसाले बढेर आएको छ । तर, निगमले नेपाली बजारमा भने मूल्य यथावत राखिने बताएको छ ।

    हाल नेपालमा पेट्रोल र डिजेल/मट्टितेलको अधिकतम मूल्य प्रतिलिटर २०० रुपैयाँ, खाना पकाउने एलपी ग्यास प्रतिसिलिण्डर दुई हजार ६० रुपैयाँ, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर २४९ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर एक हजार ६९७ अमेरिकी डलरमा बिक्रीवितरण भइरहेको छ ।

    पटक–पटक बढेर आएको मूल्य समायोजन नगरी यथावत राख्दा निगमलाई पाक्षिकरूपमा एक अर्ब ९१ करोड ६९ लाख रुपैयाँ घाटा हुने निगमले जनाएको छ ।

    यसअघि भारतबाट भदौ १५ गते पेट्रोलमा ३ रुपैयाँ ३४ पैसा, डिजेलमा ४ रुपैयाँ ३३ पैसा र मट्टितेलमा १० रुपैयाँ १९ पैसा, हवाई इन्धनमा प्रतिलिटर ४ रुपैयाँ ९६ पैसा तथा खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर ३५ रुपैयाँ ६२ पैसाले बढेर आउँदा पनि निगमले मूल्य समायोजन नगरी हाल कायम मूल्य नै कायम राखेको थियो ।

    उक्त मूल्य यथावत राख्दा निगमलाई पाक्षिकरूपमा एक अर्ब २४ करोड ३७ लाख रुपैयाँ घाटा रहेको निगमको भनाइ थियो ।

    त्यसअघि साउन ३० गते पनि निगमले नेपाली बजारको खुद्रा बिक्री मूल्य यथावत राखेको थियो । त्यसबेला भारतबाट कति–कति मूल्य बढेर आएको हो भन्ने विषयमा स्पष्ट नपारे पनि उपभोक्ताको हितका लागि भन्दै मूल्य यथावत राखिएको निर्णय गरिएको बताएको थियो ।

    सो समयमा मूल्य समायोजन नगरिँदा निगमलाई पाक्षिकरूपमा ८१ करोड ३५ लाख रुपैयाँ नोक्सान हुने बताएको थियो ।

    पछिल्लो पटक भोटेकोशीमा आएको प्रलयकारी बाढीबाट सृजित परिस्थितिलाई दृष्टिगत गर्दै मूल्य समायोजन नगरिएको बताउने आयल निगमले केही महिनायता मूल्य बढेर आउँदा पनि यथावत राख्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images