काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक (डीजी)लाई कञ्चटमा पेस्तोल राखेर रेडकर्नर नोटिस जारी गर्न लगाइएको भनिएको घटनाबारे सरकारसँग जवाफ मागेको छ ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा कांग्रेस सांसद चन्द्रमोहन यादवले सत्तारुढ दलकै सांसदबाट आएको यस्तो अभिव्यक्तिबारे सरकारको धारणा माग गरेका हुन् ।
यसअघि रास्वपाका सांसद अमरेशकुमार सिंहले संसदमा सम्पत्ति शुद्धीकरण विभागका डीजीलाई राति १ बजे पेस्तोल देखाएर दुई घण्टाभित्र रेडकर्नर नोटिस जारी गर्न दबाब दिइएको दाबी गरेका थिए ।
यादवले यस्तो अभिव्यक्ति लोकतान्त्रिक मूल्य र भयरहित समाजको अवधारणाविपरीत रहेको बताए ।
सांसदले प्रश्न उठाउँदा धम्कीपूर्ण भाषा प्रयोग भएको विषयमा समेत उनले आपत्ति जनाए ।
उनले भने, ‘कतै कञ्चटमै पेस्तोल राखेर थर्काएको कुरा आएको छ । कतै प्रश्न गर्दा धम्की आएको कुरा पनि सुन्नमा आएको छ । यो अत्यन्तै अलोकतान्त्रिक कुरा हो । यसमा सरकारको के जवाफ छ ?’
यादवले घटनाबारे सरकारले संसदमार्फत स्पष्ट जवाफ दिनुपर्ने माग गरे ।






















