images
images
  • एमाले–नेकपा नेतृत्वको सत्ता गठबन्धनले राप्रपामा खैलाबैला, कार्यालय घेर्न आइपुगे संसदीय दलका नेता

    काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गरेको कारबाहीविरुद्ध बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले पार्टी केन्द्रीय कार्यालय घेर्ने घोषणा गरेका छन् ।

    थापाले बुधबार बिहान ११ बजे धुम्बाराहीस्थित राप्रपा केन्द्रीय कार्यालयमा विरोध कार्यक्रम गर्ने भन्दै समर्थक तथा सहकर्मीलाई उपस्थित हुन आह्वान गरेका छन् ।

    बागमती प्रदेशमा सरकार गठनका क्रममा पार्टी केन्द्रको निर्णयविपरीत नेकपा एमाले नेतृत्वको सरकारलाई समर्थन गरेको आरोपमा थापासहित केही नेतामाथि राप्रपाले कारबाही गरेको थियो ।

    थापाले एमालेका किरण थापालाई मुख्यमन्त्री बनाउन समर्थन गरेका थिए ।

    आफूमाथिको कारबाही अन्यायपूर्ण भएको दाबी गर्दै थापाले लोकतान्त्रिक मूल्य, संगठनात्मक एकता र निर्वाचित जनप्रतिनिधिको सम्मान कायम गर्नुपर्ने माग अघि सारेका छन् ।

    उनले कारबाही फिर्ता लिनसमेत माग गरेका छन् ।

    यसअघि राप्रपाले काठमाडौं, चितवन, दोलखा र धादिङका जिल्ला कार्यसमितिलाई पत्र पठाउँदै कारबाहीमा परेका तथा कारबाही प्रक्रियामा रहेका व्यक्तिलाई पार्टीका कुनै पनि निकायमा सहभागी नगराउन निर्देशन दिएको थियो ।

    राप्रपाले काठमाडौंका उद्धव थापा, राजेन्द्र प्रजापति र राजु विष्ट तथा चितवनका गिरबहादुर तामाङलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको जनाएको छ ।

    दोलखाकी मोनिका श्रेष्ठ, काठमाडौंका नुरज बज्राचार्य र धादिङका डम्बर तामाङ कारबाही प्रक्रियामा छन् ।

    एमाले–नेकपा नेतृत्वको सरकारलाई समर्थन गरेको विषयमा चर्किएको राप्रपाभित्रको विवाद थापाको कार्यालय घेर्ने घोषणासँगै थप सतहमा आएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images