images
images
  • पूर्वप्रमहरूको अपमानजनक बहिर्गमन : जेनजीले ओलीलाई हुत्याए, बीपी–देउवालाई राजाले हटाए

    काठमाडौं– नेपालमा जननिर्वाचित सरकारहरूले पूर्ण कार्यकाल पूरा गर्न नसकेको इतिहास लामो छ ।

    २०१५ सालको पहिलो आमनिर्वाचनपछि बनेको बीपी कोइराला नेतृत्वको सरकारदेखि पछिल्लो केपी शर्मा ओली सरकारसम्म विभिन्न राजनीतिक, संवैधानिक र जनआन्दोलनका कारण सरकारहरू पटक–पटक परिवर्तन भएका छन् ।

    २०१५ सालको निर्वाचनमा नेपाली कांग्रेसले दुईतिहाइ बहुमत ल्याएपछि २०१६ जेठ १३ गते बीपी कोइरालाको नेतृत्वमा सरकार गठन भएको थियो ।

    तर, २०१७ पुस १ गते राजा महेन्द्रले संसद् विघटन गर्दै सरकार अपदस्थ गरेपछि देश पञ्चायती व्यवस्थामा प्रवेश गर्‍यो ।

    २०४६ सालको जनआन्दोलनपछि बहुदलीय व्यवस्था पुनःस्थापित भयो ।

    २०४८ सालमा कांग्रेसले बहुमत पाएपछि गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बने ।

    पार्टीभित्रको विवादका कारण सरकारले नीति तथा कार्यक्रम पारित गर्न नसकेपछि उनले २०५१ सालमा संसद् विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरे ।

    २०५१ सालको निर्वाचनपछि एमालेका मनमोहन अधिकारी अल्पमत सरकारको नेतृत्व गर्दै पहिलो कम्युनिस्ट प्रधानमन्त्री बने ।

    सर्वोच्च अदालतबाट संसद् पुनःस्थापित भएपछि अविश्वास प्रस्तावको सामना गर्नुपर्ने अवस्थामा उनले राजीनामा दिए ।

    त्यसपछि शेरबहादुर देउवा र कृष्णप्रसाद भट्टराईलगायत नेताहरू पटक–पटक प्रधानमन्त्री बने ।

    देउवा सरकारका पालामा सांसद किनबेच, पजेरो–प्राडो प्रकरणलगायत घटनाले संसदीय राजनीतिमाथि प्रश्न उठ्यो ।

    २०५९ असोज १८ गते राजा ज्ञानेन्द्रले देउवालाई ‘असक्षम’ घोषणा गर्दै सरकार अपदस्थ गरे ।

    पुनर्बहाली भए पनि २०६१ मा ज्ञानेन्द्रले फेरि देउवा सरकार हटाएर प्रत्यक्ष शासन सुरु गरे ।

    २०६२/०६३ को जनआन्दोलनपछि गणतन्त्र स्थापना भयो ।

    त्यसपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई र सुशील कोइरालालगायत प्रधानमन्त्री बने ।

    तर, संविधान निर्माण, दलभित्रको विवाद, सत्ता समीकरण र संसद् विघटनजस्ता कारणले कुनै पनि सरकार स्थिर रहन सकेन ।

    २०७४ सालको निर्वाचनपछि वाम गठबन्धनले झन्डै दुई तिहाइ बहुमत पाएपछि केपी शर्मा ओली शक्तिशाली प्रधानमन्त्री बने ।

    एमाले र माओवादीबीच एकीकरण भएर नेकपा बने पनि ओली–प्रचण्डबीचको शक्ति संघर्षले पार्टी विभाजन भयो ।

    ओलीले २०७७ पुस ५ र २०७८ जेठ ८ गते संसद् विघटन गरे ।

    दुवैपटक सर्वोच्च अदालतले संसद् पुनःस्थापना गर्‍यो ।

    दोस्रो विघटनपछि अदालतको परमादेशबाट ओली सरकार हट्यो ।

    त्यसपछि विभिन्न सत्ता गठबन्धन हुँदै ओली २०८१ असार ३० गते पुनः प्रधानमन्त्री बने ।

    तर, २०८२ भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि उनी सत्ताच्यूत भए ।

    नेपालको राजनीतिक इतिहासमा जनमतबाट बनेका सरकारहरू पनि आन्तरिक विवाद, सत्ता संघर्ष, संवैधानिक संकट, न्यायिक हस्तक्षेप र जनआन्दोलनका कारण टिक्न नसकेको देखिन्छ ।

    २०८२ फागुनको निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र (बालेन) शाह प्रधानमन्त्री बनेका छन् ।

    नयाँ सरकारको स्थायित्व र पूर्ण कार्यकाल भने अबको राजनीतिक यात्राले निर्धारण गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images