images
images
  • पोखराका ३३ वडामा जग्गाको कित्ताकाट खुल्यो, झन्डै ७ लाख कित्ता भू–उपयोग वर्गीकरण

    काठमाडौं– पोखरा महानगरपालिकाले ३३ वटै वडाको जग्गा भू–उपयोग वर्गीकरण गरेसँगै लामो समयदेखि प्रभावित हुँदै आएको जग्गाको कित्ताकाट खुला भएको छ ।

    महानगरपालिकाले झन्डै ७ लाख कित्ता जग्गाको भू–उपयोग वर्गीकरण गरी कार्यान्वयनका लागि भूमि प्रशासन तथा नापी कार्यालयमा पठाएको हो ।

    महानगरप्रमुख धनराज आचार्यका अनुसार ‘भू–उपयोग ऐन, २०७६’ तथा ‘भू–उपयोग नियमावली, २०७९’ बमोजिम महानगरका सबै वडाको भू–उपयोग वर्गीकरण विवरण तयार गरिएको हो ।

    भू–उपयोग परिषद्को सिफारिस तथा नगर कार्यपालिकाको निर्णयअनुसार वर्गीकरण गरिएको विवरण स्थानीय राजपत्रमा समेत प्रकाशित भइसकेको महानगरले जनाएको छ ।

    वर्गीकरण विवरणका आधारमा प्रचलित कानुनबमोजिम जग्गा प्रशासन, कित्ताकाट, नक्सा तथा अभिलेखसम्बन्धी काम अघि बढाउन महानगरले जिल्लास्थित भूमि प्रशासन तथा नापी कार्यालयलाई पत्राचार गरेको छ ।

    महानगरले सम्बन्धित कार्यालयबाट हुने जग्गा प्रशासन, कित्ताकाट, नक्सा तथा अभिलेखसम्बन्धी काममा आवश्यक समन्वय गर्नसमेत आग्रह गरेको छ ।

    महानगरप्रमुख आचार्यले भू–उपयोग वर्गीकरण पूरा भएसँगै जग्गाको कित्ताकाट तथा कारोबारमा देखिँदै आएको समस्या समाधान हुने र नागरिकलाई सहज हुने बताउनुभयो ।

    भू–उपयोग वर्गीकरण नहुँदा लामो समयदेखि रोकिँदै आएको कित्ताकाट खुल्नु पोखराका जग्गाधनी तथा व्यवसायीका लागि महत्वपूर्ण राहतका रूपमा हेरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images