काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि नेपाल इन्जिनियरिङ कलेजले १० लाख २ हजार ६ सय ४३ रुपैयाँ सहयोग गरेको छ ।
कलेजले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा उक्त रकम जम्मा गरेको हो। कलेजका प्राध्यापक, कर्मचारी तथा कलेजको तर्फबाट संकलित रकम सोमबार अर्थ मन्त्रालयमा पुगेर हस्तान्तरण गरिएको कलेजका मिडिया रिलेसन अफिसर महेश पुजाराले जानकारी दिनुभयो ।
कलेजका प्राचार्य दुर्गाप्रसाद भण्डारी नेतृत्वको टोलीले अर्थमन्त्री डा। स्वर्णिम वाग्लेलाई सहयोग रकमको चेक हस्तान्तरण गरेको हो ।
चेक बुझ्दै अर्थमन्त्री वाग्लेले विपद्को समयमा सरकारको राहत तथा पुनर्स्थापना अभियानमा सहयोग गरेकोमा नेपाल इन्जिनियरिङ कलेजप्रति आभार व्यक्त गर्नुभएको थियो ।
भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति भएको र प्रभावित परिवारलाई तत्काल राहतसँगै दीर्घकालीन पुनर्स्थापनाको आवश्यकता रहेको भन्दै कलेजले सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको जनाएको छ ।
कलेजका अनुसार सहयोग रकम प्राध्यापक तथा कर्मचारीको योगदानसँगै कलेजको तर्फबाट थप रकम जुटाएर संकलन गरिएको हो । विपद्का बेला प्रभावित समुदायको साथमा उभिनु आफ्नो सामाजिक दायित्व भएको कलेजले जनाएको छ ।
कलेजले बाढीबाट प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै राहत, उद्धार तथा पुनर्स्थापनाका लागि राज्य र सम्बन्धित निकायले सञ्चालन गर्ने अभियानमा सबै पक्षले सहयोग गर्नुपर्नेमा जोड दिएको छ ।
नेपाल इन्जिनियरिङ कलेज भक्तपुरको चाँगुनारायणमा सञ्चालित मुनाफारहित सामाजिक शैक्षिक संस्था हो ।
पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजले इन्जिनियरिङका विभिन्न विषयमा स्नातक तथा स्नातकोत्तर तहमा अध्ययन–अध्यापन गराउँदै आएको छ ।
कलेजले प्राविधिक शिक्षासँगै प्रयोगात्मक तथा परियोजनामूलक सिकाइलाई प्राथमिकता दिँदै आएको जनाएको छ ।
अनुभवी तथा विषयगत दक्ष प्राध्यापकको प्रत्यक्ष संलग्नतामार्फत विद्यार्थीलाई नियमित शैक्षिक मार्गदर्शन र व्यावहारिक सिकाइको अवसर उपलब्ध गराउँदै आएको कलेजको भनाइ छ ।
कलेजले अन्तर्राष्ट्रिय विश्वविद्यालय तथा शैक्षिक संस्थासँग सहकार्य गर्दै विद्यार्थीलाई विश्वव्यापी शैक्षिक अभ्यास, प्रविधि तथा अनुसन्धानसँग जोड्ने प्रयाससमेत गर्दै आएको जनाएको छ ।
त्यस्तै, आर्थिक रूपमा कमजोर तथा योग्य विद्यार्थीलाई उच्च शिक्षाको अवसर उपलब्ध गराउने उद्देश्यले कलेजले छात्रवृत्ति कार्यक्रमलाई समेत प्राथमिकता दिएको छ ।


विश्व खबर 




















