काठमाडौं – सेयर बजारमा सुधार देखिन थालेसँगै मूल्य बढ्ने कम्पनीको संख्या पनि बढ्दै गएको छ । नेपाली सेयर बजारमा बजार बढ्दा अधिकांश कम्पनीको सेयर मूल्य बढ्ने र बजार घट्दा अधिकांश सेयरको मूल्य घट्ने प्रवृत्ति देखिँदै आएको छ ।
यही क्रममा पछिल्ला केही दिनदेखि सञ्चित नोक्सानी उच्च रहेका केही कम्पनीको सेयर कारोबारसमेत बढ्न थालेको छ ।
बजार बढिरहेका बेला सेयर मूल्य अझै बढ्न सक्ने अनुमानमा लगानीकर्ताको आकर्षण बढ्दा यस्ता कम्पनीको कारोबार उच्च भएको देखिन्छ ।
यस क्रममा लिबर्टी इनर्जी र शिवश्री हाइड्रोपावरको सेयरमा पछिल्ला दिनमा उल्लेख्य कारोबार भएको छ ।
लिबर्टी इनर्जी
गत बिहीबार लिबर्टी इनर्जीको करिब ३६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भयो । कारोबार बढ्नुका साथै उक्त दिन कम्पनीको सेयर मूल्य एक समय १५ प्रतिशतसम्म बढेर २४६ रुपैयाँ पुगेको थियो ।
त्यसयता पनि कम्पनीको सेयर मूल्य बढ्ने क्रम जारी रह्यो। सोमबार लिबर्टी इनर्जीको २३ करोड ८४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो ।
कारोबार रकमका आधारमा यो कम्पनी दोस्रो स्थानमा रह्यो । यद्यपि, सोमबार सेयर मूल्य भने २ रुपैयाँ घटेर २५२ रुपैयाँमा कारोबार भएको थियो ।
लिबर्टी इनर्जीको सेयर कारोबार बढ्नुमा कम्पनीको आधारभूत पक्षले खासै ठूलो योगदान गरेको देखिँदैन ।
यद्यपि, २०७७ असोजमा सेयर सूचीकरण भएयता गत आर्थिक वर्ष २०८२/८३ मा कम्पनी पहिलोपटक नाफामा गएको छ । कम्पनीले उक्त आर्थिक वर्षमा २ करोड ५२ लाख रुपैयाँ नाफा कमाएको हो ।
कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी करिब ३९ प्रतिशतले बढेर १७ करोड ४५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी १२ करोड ५६ लाख रुपैयाँ थियो ।
तर, कम्पनीको सञ्चित नोक्सानी भने अझै बढिरहेको छ । अघिल्लो वर्ष ७३ करोड ७० लाख रुपैयाँ रहेको सञ्चित नोक्सानी बढेर ७३ करोड ९८ लाख रुपैयाँ पुगेको छ ।
लिबर्टी इनर्जीले लमजुङमा २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ । कम्पनीले आफ्ना दुई सहायक कम्पनीमार्फत थप दुई जलविद्युत् आयोजना विकास गर्ने तयारीसमेत गरिरहेको छ ।
वित्तीय विवरणअनुसार कम्पनीले बढीगाड हाइड्रोपावर लिमिटेडमार्फत २४.६० मेगावाट क्षमताको बढीगाड खोला जलविद्युत् आयोजना र लिपी हाइड्रोपावर लिमिटेडमार्फत १.६ मेगावाट क्षमताको लोदो खोला साना जलविद्युत् आयोजना विकास गर्न लागेको छ ।
केही समयअघि ५० प्रतिशत हकप्रद सेयर जारी गरेको कम्पनीको सेयर प्रिमियमबापत जगेडामा ७ करोड ३७ लाख रुपैयाँ रहेको छ। कम्पनीको चुक्ता पुँजी २ अर्ब २५ करोड रुपैयाँ छ ।
भर्खरै नाफामा जान थालेकाले कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ १२ पैसा मात्रै छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ ७० रुपैयाँ रहेको छ ।
पछिल्लो एक वर्षमा कम्पनीको सेयर मूल्य उच्चतम २७६ रुपैयाँ र न्यूनतम १८० रुपैयाँसम्म पुगेको छ ।
सोमबार करिब २५० रुपैयाँमा कारोबार भइरहेको सेयरले तत्कालका लागि २६८ देखि २७६ रुपैयाँ आसपासको क्षेत्रमा प्रतिरोध सामना गर्न सक्ने देखिन्छ ।
शिवश्री हाइड्रोपावर
गत बिहीबार शिवश्री हाइड्रोपावरको १२ करोड ४० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो। उक्त दिन कम्पनीको सेयर मूल्य करिब ६ प्रतिशतले बढेर प्रतिकित्ता २१२ रुपैयाँ पुगेको थियो ।
सोमबार भने कम्पनीको २ करोड ८३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो । सेयर मूल्य पाँच रुपैयाँभन्दा बढीले घटेर २०७ रुपैयाँमा कारोबार भएको थियो ।
शिवश्री हाइड्रोपावर बजारमा तुलनात्मक रूपमा सस्तो मूल्यमा कारोबार भइरहेका करिब आधा दर्जन कम्पनीमध्ये एक हो ।
बजार बढ्ने क्रममा रहेका बेला तुलनात्मक रूपमा सस्तो मानिएका सेयरमा लगानीकर्ताको आकर्षण बढ्दा यस्ता कम्पनीको मूल्य र कारोबार दुवै बढ्न थालेको देखिन्छ ।
शिवश्रीको अन्य आधारभूत पक्ष भने सामान्य देखिन्छ। कम्पनीको सेयर २०७९ कात्तिकदेखि दोस्रो बजारमा कारोबार हुँदै आएको छ । गत बुधबार १८१ रुपैयाँबाट कारोबार भएको कम्पनीको सेयर मूल्य बिहीबार उल्लेख्य बढेको थियो ।
आर्थिक वर्ष २०८१/८२ मा १ करोड रुपैयाँ नाफामा रहेको कम्पनी आर्थिक वर्ष २०८२/८३ मा भने ११ करोड ९१ लाख रुपैयाँ नोक्सानमा गएको छ ।
कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानीसमेत घटेको छ। अघिल्लो आर्थिक वर्षमा ३९ करोड ६७ लाख रुपैयाँ रहेको यस्तो आम्दानी घटेर ३७ करोड ५१ लाख रुपैयाँमा सीमित भएको छ।
कम्पनी अझै ठूलो सञ्चित नोक्सानीमा छ। अघिल्लो आर्थिक वर्षमा १ अर्ब २९ करोड रुपैयाँ रहेको सञ्चित नोक्सानी बढेर १ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । कम्पनीले हालसम्म लगानीकर्तालाई लाभांश वितरण गरेको छैन ।
शिवश्रीले केही समयअघि १ बराबर १ अनुपातमा हकप्रद सेयरसमेत जारी गरेको थियो ।
कम्पनीले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा २२।२ मेगावाट क्षमताको माथिल्लो चाकु ‘ए’ जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ ।
पछिल्लो एक वर्षमा कम्पनीको सेयर मूल्य उच्चतम २५१ रुपैयाँ र न्यूनतम १५१ रुपैयाँसम्म पुगेको छ ।


विश्व खबर 



















