काठमाडौं– नजिकिँदै गरेको बडा दसैँलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई एटीएम मेसिनबाटै १०० रुपैयाँ दरका नोट वितरण गर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ ।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले नेपाल बैंकर्स संघलाई पत्र पठाउँदै हाल एटीएमबाट मुख्यत: ५०० र एक हजार रुपैयाँ दरका नोट वितरण हुँदै आएकोमा अब १०० रुपैयाँ दरका नोटसमेत उपलब्ध गराउन आवश्यक व्यवस्था मिलाउन आग्रह गरेको हो ।
सर्वसाधारणबाट एटीएमबाटै १०० रुपैयाँ दरका नोट निकाल्न सकिने व्यवस्था हुनुपर्ने माग हुँदै आएको र केही बैंकहरूसँग प्राविधिक पक्षबारे जानकारी लिँदा यस्तो व्यवस्था गर्न सकिने देखिएपछि राष्ट्र बैंकले बैंकहरूलाई आग्रह गरेको जनाएको छ ।
विशेषगरी दसैँको समयमा साना दरका नोटको माग बढ्ने भएकाले एटीएमबाटै १०० रुपैयाँका नोट उपलब्ध गराउन सके बैंकका काउन्टरमा नयाँ तथा साना दरका नोट लिन आउने ग्राहकको भीड कम गर्न सहयोग पुग्ने राष्ट्र बैंकको अपेक्षा छ ।
राष्ट्र बैंकले आफ्नो पत्रको बोधार्थ डेभलपमेन्ट बैंकर्स संघ नेपाल र नेपाल वित्तीय संस्था संघलाई समेत पठाएको छ ।
यद्यपि, सबै एटीएमबाट तत्काल १०० रुपैयाँका नोट वितरण गर्न भने प्राविधिक चुनौती रहेको देखिएको छ ।
सार्वजनिक विवरणअनुसार पुराना मोडलका एटीएममा दुईवटा मात्रै नोट राख्ने ठाउँ हुने भएकाले हाल एक हजार र ५०० रुपैयाँका नोट राखिएका मेसिनमा १०० रुपैयाँको नोट थप्न कठिन हुन्छ ।
नयाँ मोडलका केही एटीएममा भने चारवटा नोट राख्ने क्षमता भएकाले १०० रुपैयाँको नोटसमेत राखेर वितरण गर्न सकिने अवस्था रहेको बैंकर्सहरूले बताएका छन् ।
























