images
images
  • सानेपा भर्सेज चुनदेवी : गगन पक्षले गरेको निर्णय देउवा समूहद्वारा अस्वीकार, विशेष महाधिवेशनले कांग्रेस थिलोथिलो

    काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले गगन थापा नेतृत्वको संस्थापन पक्षले गरेका निर्णय नमान्ने निर्णय गरेको छ ।

    सोमबार चुनदेवीस्थित देउवा निवासमा बसेको समूहको बैठकले पुसमा भएको विशेष महाधिवेशनलाई अवैधानिक भन्दै त्यसबाट बनेको कार्यसम्पादन समितिका निर्णय अस्वीकार गर्ने निर्णय गरेको नेता दीपक खड्काले जानकारी दिए ।

    संस्थापन पक्षले असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने तयारी गरिरहेका बेला देउवा समूहले भने मंसिरमा महाधिवेशन गर्न असोज १५ गतेदेखि अधिवेशनहरू अघि बढाउने निर्णय गरेको छ ।

    खड्काका अनुसार राजनीतिक छलफल र समझदारीबिना एकपक्षीय रूपमा तय गरिएको अधिवेशनमा सहभागी नहुने निर्णय भएको छ ।

    उनका अनुसार महाधिवेशनका लागि निर्वाचन, अनुशासन तथा क्रियाशील सदस्यता व्यवस्थापन समिति गठन गरी पूर्णता दिने निर्णयसमेत भएको छ ।

    देउवा समूहले पार्टीको आधिकारिकतासम्बन्धी सर्वोच्च अदालतको फैसलामा पुनरवलोकनको अनुमति प्राप्त भइसकेकाले त्यससम्बन्धी फैसला आएपछि थप रणनीति तय गर्ने जनाएको छ ।

    गत पुसमा तत्कालीन केन्द्रीय समितिको असहमतिबीच महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा विशेष महाधिवेशन भएपछि कांग्रेसमा विवाद चर्किएको हो ।

    देउवा र डा.शेखर कोइराला समूहले उक्त विशेष महाधिवेशनलाई वैधानिकता दिएका छैनन् ।

    यसअघि देउवा–शेखर समूहले १४औँ महाधिवेशनबाट आएका केन्द्रीय सदस्यलाई निरन्तरता दिनुपर्ने र पुस मसान्तसम्म नवीकरण भएका क्रियाशील सदस्यलाई मान्यता दिनुपर्ने माग राखेको थियो ।

    संस्थापन पक्षले ती माग सम्बोधन गरे पनि विशेष महाधिवेशनको वैधानिकतामै प्रश्न उठाउँदै देउवा समूहले संस्थापनको महाधिवेशन प्रक्रियामा सहभागी नहुने निर्णय गरेको हो ।

    समूहले आफ्ना निर्णय सार्वजनिक गर्न सोमबार दिउँसो ४ बजे चुनदेवीस्थित सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गर्दैछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images