काठमाडौं– काभ्रेको बल्थलीमा जारी एमाले कार्यदलको बैठकमा पार्टी पुनर्गठन र नेतृत्व परिवर्तनका विषयमा मतभेद देखिएको छ ।
बैठकमा कार्यदल संयोजक एवं तत्कालीन माओवादी पृष्ठभूमिका रामबहादुर थापा ‘बादल’ र महासचिव शंकर पोखरेलका दुई प्रतिवेदनमाथि सदस्यहरूले धारणा राख्ने क्रम सकिएको छ ।
बहुमत सदस्यले पार्टीको पुनर्गठन आवश्यक रहेको भन्दै निकासका लागि विशेष महाधिवेशन वा प्रतिनिधि परिषद् बैठक बोलाएर नेतृत्व परिवर्तन गर्नुपर्ने धारणा राखेका छन् ।
तर, संयोजक बादलले भने विशेष महाधिवेशन वा प्रतिनिधि परिषद् बैठकको प्रस्ताव अस्वीकार गरेका छन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले पनि अस्वीकार गर्दै आएका छन् ।
उनले अहिले नेतृत्व परिवर्तनको समय नभएको भन्दै नेतृत्वको रक्षा गरेर पार्टीलाई एकताबद्ध बनाउनुपर्ने बताएका छन् ।
‘विशेष महाधिवेशन वा प्रतिनिधि परिषद् बैठक बोलाउने अहिले समय होइन, अहिले नेतृत्वको रक्षा गर्ने समय हो,’ बादलले बैठकमा भनेका छन् ।
बादलले कार्यदलको औचित्यमाथि समेत प्रश्न उठाएपछि पुनर्गठन पक्षधर नेताहरूले प्रतिवाद गरेका छन् ।
महासचिव पोखरेलको प्रतिवेदनको १७ नम्बर बुँदामा भने निकासका लागि विशेष महाधिवेशन वा प्रतिनिधि परिषद् बैठक बोलाउन सकिने सुझाव दिइएको छ ।
उक्त प्रस्तावप्रति अध्यक्ष केपी शर्मा ओली पक्षसमेत सकारात्मक नरहेको बताइएको छ ।
दुवै प्रतिवेदनलाई समेटेर एउटै निष्कर्ष निकाल्ने विषयमा कार्यदलमा छलफल जारी छ ।






















