काठमाडौं– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले लगानी बोर्डका पूर्वसीईओ सुशील ज्ञवालीलाई विज्ञ सल्लाहकार नियुक्त गरेका छन् ।
भदौ १० गतेको भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो क्षति भएपछि भदौ १३ गते ज्ञवालीलाई नियुक्त गरिएको हो ।
मन्त्रालयका अनुसार ज्ञवालीले बाढीपछिको क्षति मूल्यांकन तथा पुनर्निर्माणका लागि आवश्यक विपद्पछिको आवश्यकता आकलन (पीडीएनए)मा सहजीकरण गरिरहेका छन् ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.गुणाकर भट्ट संयोजक रहेको कार्यदलमा समेत उनले सहयोग गरिरहेका छन् ।
ज्ञवाली भूकम्पपछि गठित राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) थिए ।
विपद्पछिको पुनर्निर्माण र पीडीएनएमा उनको अनुभव भएकाले मन्त्रालयले त्यसको उपयोग गर्न खोजेको अधिकारीहरूको भनाइ छ ।
मन्त्रीका स्वकीय सचिव विवेक बास्तोलाका अनुसार ज्ञवालीलाई मन्त्रालयमै कार्यकक्ष उपलब्ध गराइएको छ ।
उनी विश्व बैंकको सहयोगमा अघि बढिरहेको ‘काठमाडौं भिजन २०४०’ परियोजनामा समेत कन्सल्ट्यान्टका रूपमा काम गरिरहेका छन् ।
स्रोतका अनुसार भोटेकोशी बाढीअघि नै ज्ञवालीलाई मन्त्री लम्सालको सल्लाहकार बनाउने तयारी थियो ।
बाढीपछि पुनर्निर्माणको जिम्मेवारीसमेत उनको भूमिकासँग जोडिएको हो ।
ज्ञवाली गत वैशाखमा अध्यादेशमार्फत लगानी बोर्डको सीईओ पदबाट हटेका थिए ।
अहिले उनी काठमाडौं भिजन २०४० को डीपीआर तयारीसहित मन्त्रालयको पीडीएनए कार्यमा संलग्न छन् ।
उनी एमालेका कट्टर समर्थक हुन् ।






















