images
images
  • कांग्रेस फुटको जग महाधिवेशन, पार्टी विभाजन गर्न देउवाभन्दा गगन सक्रिय

    काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले एक सातामै केन्द्रीय कार्यसम्पादन समितिको दोस्रो बैठक बोलाएको छ ।

    २१–२२ भदौमा बसेको बैठकपछि आइतबार दिउँसो २ बजे केन्द्रीय कार्यालयमा पुनः बैठक बस्न लागेको हो ।

    महामन्त्री प्रदीप पौडेलका अनुसार बैठक महाधिवेशनसम्बन्धी आवश्यक निर्णय गर्न बोलाइएको हो ।

    उनले ३ असोजदेखि वडा अधिवेशन सुरु हुने र महाधिवेशनको कार्यतालिका नसरिने स्पष्ट पारे ।

    बैठकमा समसामयिक राजनीतिक तथा सांगठनिक विषयमा छलफल हुने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बताए ।

    बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिहरूलाई बोलाइएको छ ।

    कांग्रेसमा संस्थापन र इतर पक्षले छुट्टाछुट्टै रूपमा १५औँ महाधिवेशनको तयारी गरिरहेका छन् ।

    विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको पक्षले ३ असोजदेखि वडा अधिवेशन सुरु गर्ने कार्यतालिका अघि सारेको छ ।

    देउवा पक्षले भने १५ असोजदेखि वडा अधिवेशन सुरु गरी २१–२३ मंसिरमा महाधिवेशन गर्ने कार्यतालिका बनाएको छ ।

    इतर पक्षले १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिकै नेतृत्वमा १५औँ महाधिवेशन गर्नुपर्ने अडान राखेको छ ।

    थापा पक्ष भने विशेष महाधिवेशनबाट चयन भएको कार्यसमितिले नै महाधिवेशन गराउनुपर्ने अडानमा छ ।

    यही विवादका कारण पार्टी विभाजनको जोखिम बढेको भन्दै २५ नेताले महाधिवेशन प्रक्रिया रोकेर निर्णायक वार्ता गर्न अपिल गरेका छन् ।

    यसबीच कांग्रेस केन्द्रीय निर्वाचन समितिले सातै प्रदेशका लागि वरिष्ठ अधिवक्तालाई निर्वाचन संयोजक तोकेको छ ।

    थापा पक्षको कार्यतालिकाअनुसार ३–४ असोजमा वडा, ७ असोजमा पालिका, १० असोजमा प्रदेश सभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन र १६–१९ असोजमा केन्द्रीय महाधिवेशन गर्ने तयारी छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images